
झापा, ३१ असोज । झापाको कनकाई नगरपालिका–१ र २ मा अवस्थित जामुनवारी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार एवं पर्यटकीय क्षेत्रको ३०औं वार्षिक साधारण सभा शुक्रबार वनको सभाहलमा सम्पन्न भएको छ।
सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. १,६४,४२,२८७.७० को अनुमानित बजेट सार्वजनिक गरिएको छ। समूहका अध्यक्ष पर्शुराम गिरीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, गत आर्थिक वर्ष २०८१/०८२ मा समूहले रु. १,५२,४३,२२१ आम्दानी गरेको थियो।
अध्यक्ष गिरीले पछिल्लो समय जामुनखाडीमा पर्यटक आगमन घट्दै गएकाले आम्दानीमा कमी आएको उल्लेख गर्नुभयो। आम्दानी वृद्धि र वन क्षेत्रको समुचित व्यवस्थापनका लागि उहाँले चरिचरण नियन्त्रण, श्रमदान अभियान, सिमसार सौन्दर्यकरण, सरसफाइ, बदेल र चित्तल प्रजनन केन्द्र सञ्चालन, बिक्री वितरण लगायतका ९ बुँदे रणनीतिक योजना प्रस्तुत गर्नुभयो, जसलाई सभाले सर्वसम्मतिले अनुमोदन गरेको छ।
कार्यक्रममा डिभिजन वन कार्यालय कनकाईका प्रमुख महेन्द्र पौडेल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वन हेरालु चन्द्रध्वज माझीलाई उत्कृष्ट कर्मचारीका रूपमा रु. ३,५०० नगद, दोसल्ला र कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। त्यस्तै, देवी पञ्चकन्या पाथीभरा मन्दिरमा पिउनेपानीको धारा जडान गरी सहयोग गर्ने चन्द्रप्रसाद तिम्सीनालाई पनि दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो।
अध्यक्ष गिरीले जामुनखाडी सिमसार क्षेत्रलाई कोशी प्रदेशकै उत्कृष्ट चिडियाघरका रूपमा विकास गर्न पूर्वाधार निर्माणका लागि सरकारका विभिन्न तहसँग योजना माग गरिने जानकारी दिनुभयो। साथै, सिमसार क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्दै दीर्घकालीन विकासको अवधारणा पनि प्रस्तुत गर्नुभयो।
कार्यक्रममा प्रजापति सामुदायिक वनका अध्यक्ष मात्रिका पोखरेल, जामुनवारी सामुदायिक वनका निवर्तमान अध्यक्ष ख्यामराज सिटौला, कनकाई नगरपालिका–२ का वडाध्यक्ष बलराम राई (प्रताप), सामुदायिक वन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन सचिव दीपक ओलीले गर्नुभएको थियो भने उपाध्यक्ष रेनु खवासले स्वागत मन्तव्य राख्नुभएको थियो। कोषाध्यक्ष चेतकुमारी सापकोटा (रचना)ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव मिलन चौहानले आगामी वर्षको अनुमानित वार्षिक योजना र बजेट प्रस्तुत गर्नुभएको थियो।


