झापा, ३ कात्तिक । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध, नगद र सुनसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा झापाको सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको मोबाइल टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दोलखा झ्याकु गाविस–५ का नङ्गबहादुर बस्नेतलाई आइतबार लागुऔषध, नगद र सुनसहित पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक दिवस न्यौपानेले जानकारी दिनुभयो ।
विशेष सूचनाको आधारमा चेकजाँच गर्दा बस्नेतको साथबाट ब्राउनसुगर जस्तो देखिने ४०.१८ ग्राम खैरो पदार्थ, रू १० लाख ५१ हजार एक सय २० र ९०.५४० ग्राम सुन (१ थान सिक्री र २ थान औंठी) बरामद गरिएको उहाँले बताउनुभयो ।
पक्राउ परेका बस्नेतलाई लागूऔषध, नगद र सुनसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको जनाइएको छ ।


