कञ्चनपुर, ४ कात्तिक । इजरायलमा हमासको नियन्त्रणमा परेर ज्यान गुमाएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको मंगलबार महाकाली आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
बिहान ८ बजे महेन्द्रनगरस्थित घरबाट सुरु भएको शवयात्रा महाकाली आर्यघाटमा पुगेर सम्पन्न भयो। जोशीको पार्थिव शरीरमा उनका पिता महानन्द जोशीले दागबत्ती दिनुभयो भने सशस्त्र प्रहरी बलले सलामी अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्यो।
दाहसंस्कारमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससहित इजरायली प्रतिनिधिमण्डलको सहभागिता थियो। साथै, पूर्वपरराष्ट्र मन्त्री एनपी साउद, पूर्वसांसदहरू, प्रदेश सरकारका मन्त्री तथा सांसदहरू, स्थानीय जनप्रतिनिधि र हजारौँ नागरिकहरूले जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे।
विपिनको शव सोमबार साँझ ८ः१५ बजे महेन्द्रनगरस्थित घरमा ल्याइएको थियो। फ्लाई दुबईको उडानमार्फत शव काठमाडौं ल्याइएपछि प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र उच्च सरकारी अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि नेपाली सेनाको स्काई ट्रकबाट शव धनगढी पुर्याई, त्यहाँबाट शव वाहनमार्फत महेन्द्रनगर पुर्याइएको थियो।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा विपिन जोशी बन्धक बनाइएका थिए। दुई वर्षसम्म उनको अवस्था अज्ञात रहँदा पनि आशा गरिएको थियो कि उनी सकुशल फर्किनेछन्। तर, असोज २७ गते उनको मृत्यु पुष्टि भयो। हमासले हालै विपिनको शव इजरायललाई हस्तान्तरण गरेको थियो।
इजरायली डिफेन्स फोर्सले नेपाल सरकार, जोशी परिवार र इजरायलस्थित नेपाली दूतावासलाई विपिनको मृत्युबारे जानकारी दिएको थियो। परराष्ट्र मन्त्रालयका अनुसार, इजरायल सरकारले विपिनका परिवारलाई आफ्ना नागरिकले पाउने सेवा(सुविधा उपलब्ध गराउने आश्वासन दिएको छ।


