झापा, ६ कात्तिक । झापाको बिर्तामोड नगरपालिका–५ मा भएको कुटपिट घटनामा एक युवकको मृत्यु भएको छ । बुधबार साँझ ६ः३० बजे सोही वडामा बसोबास गर्ने ३० वर्षीय जगन राजबंशीलाई अज्ञात व्यक्तिले झै–झगडाको क्रममा कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
घाइते राजबंशीलाई तत्कालै उनका आफन्तहरूले उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्याएका थिए। अस्पतालमा डाक्टरले प्रारम्भिक परीक्षणपछि उनलाई मृत घोषणा गरेको थियो ।
घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान टोली खटाइएको छ। मृतकको शव हाल बिएण्डसी अस्पतालमै राखिएको छ भने घटनामा संलग्न व्यक्तिको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न व्यक्तिको पहिचान भइसकेको र उनलाई पक्राउ गर्न प्रयास भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।


