झापा, १० कात्तिक । गृह मन्त्रालयले आइतबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) तथा सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको निर्णयअनुसार कुल ३६ जना कर्मचारीको सरुवा गरिएको हो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल झापाको प्रजिअमा सरुवा भएका छन् । झापाका प्रजिअ गोपालकुमार अधिकारीलाई काभ्रेपलाञ्चोकमा सरुवा गरिएको छ ।
मन्त्रालयले साँझ जारी गरेको सूचनामा ३१ जना प्रमुख जिल्ला अधिकारी, एक प्रमुख अध्यागमन अधिकृत, दुई सहसचिव र दुई महानिर्देशकको सरुवा तथा पदस्थापन गरिएको उल्लेख छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत खिमबादुर रायमाझीलाई जुम्लाको प्रजिअ बनाइएको छ भने जुम्लाका प्रजिअ केदारनाथ शर्मालाई विमानस्थलको प्रमुख अध्यागमन अधिकृत पदमा सरुवा गरिएको छ । सहसचिव गोगनबहादुर हमाल बर्दियाको प्रजिअमा पदस्थापन भएका छन् भने बर्दियाका प्रजिअ सुरेन्द्र पौडेल सिरहामा सरुवा भएका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेल मोरङको प्रजिअमा सरुवा भएका छन् । मोरङका प्रजिअ इन्द्रदेव यादव महोत्तरी पठाइएको छ । गृहको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराई ललितपुरको प्रजिअमा सरुवा भएका छन् भने ललितपुरका प्रजिअ सुमन घिमिरे सोही विभागमा पदस्थापन भएका छन् ।
सरुवा भएका प्रजिअहरू रुपन्देही, कैलाली, नवलपरासी, महोत्तरी, दोलखा, पर्सा, उदयपुर, डडेलधुरा, लमजुङ, बाँके, अर्घाखाँची, रौतहट, कपिलवस्तु, सिन्धुली, अछाम, गुल्मी, सुनसरी, भक्तपुर, बारा, धनकुटा, धनुषा, मकवानपुर, गोरखा, सर्लाही लगायतका जिल्लामा रहेका छन् ।


