झापा, १० कात्तिक । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले सोमबार दिउँसो १२ बजे जारी गरेको पोस्ट(मनसुन विशेष मौसम बुलेटिन–१ अनुसार आज रातिदेखि कात्तिक १२ गते ९बुधबार० बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाड तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
साथै, गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
महाशाखाले सम्भावित हिमपात तथा वर्षाका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।


