महोत्तरी, १३ कात्तिक । मधेस प्रदेशको महोत्तरीसहित मिथिला क्षेत्रका विभिन्न जिल्लामा आज कुष्माण्ड नवमी पर्व परम्परागत उत्साहका साथ मनाइँदैछ। कात्तिक शुक्ल नवमी तिथिमा मनाइने यो पर्वलाई अक्षय नवमी, धातृ नवमी र इच्छा नवमी पनि भनिन्छ।
मैथिल परम्पराअनुसार, यस दिन अमला (धातृ) को रूखको फेदमा सपरिवार भोजन गर्ने चलन छ। पर्वको तयारी एक दिनअगावै सुरु हुन्छ—घर नजिकैको बगैँचा वा वनक्षेत्रमा रहेको अमलाको रूखमुनि साकाहारी परिकार पकाएर राति सामूहिक रूपमा खाने गरिन्छ। जनविश्वासअनुसार, अमलाका पातले खानेकुरा स्वादिष्ट र स्वास्थ्यवर्द्धक बनाउँछ।
मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्थ डा. रवीन्द्र दास वैष्णवका अनुसार, अमला अत्यन्त गुणकारी फल हो, जसको सेवनले जाडोयाममा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यही कारणले पूर्वजहरूले यो पर्वको परम्परा सुरु गरेको विश्वास गरिन्छ।
बर्दिबास–१२ बिजलपुराका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले अमलाको नियमित प्रयोगलाई स्वास्थ्य सचेतनासँग जोडिएको परम्परा मानेका छन्। पर्वको अवसरमा किशोर र युवा वनभोजको तयारीमा सक्रिय देखिन्छन्। जलेश्वर–५ पतैलीका संस्कृतिविद् ध्रुव रायका अनुसार, पछिल्लो पुस्ताको सहभागिताले सांस्कृतिक संरक्षण, विकास र निरन्तरता सुनिश्चित गर्छ।
संस्कृतिविद् रायका अनुसार, द्वापर युगमा भगवान् श्रीकृष्णले कात्तिक शुक्ल नवमीका दिन कुष्माण्डक दैत्यको संहार गरी कंश बध गर्नुअघि मथुरा, वृन्दावन र गोवर्द्धन पर्वतको परिक्रमा गरेका थिए। यही कारण यो दिनलाई कुष्माण्ड नवमी भनिएको हो।
प्रसिद्ध साहित्यकार डा. राजेन्द्रप्रसाद विमलका अनुसार, कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाको रूखमा वास गर्ने जनविश्वास छ। यस दिन विष्णुको आराधनाले अक्षय पुण्य प्राप्त हुने भएकाले अक्षय नवमी, इच्छित कामना पूरा हुने भएकाले इच्छा नवमी, र अमलाको प्रयोगमा जोड दिइने भएकाले धातृ नवमी भनिएको हो।


