झापा, १३ कात्तिक । देशका विभिन्न भागमा आज ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकाले बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूमा आगामी तीन दिनसम्म पानीको बहाव बढ्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार, ती प्रदेशका केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना पनि रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको छ।
महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सावधानी अपनाउन र सम्भावित बाढीबाट बच्न आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न, आपतकालीन सामग्री तयारी गर्न, र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सुझाव दिइएको छ।


