झापा, १३ कात्तिक । भारतको बिहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल र भारतका सुरक्षाकर्मीहरूले झापा–बिहार सीमामा संयुक्त गस्ती सुरु गरेका छन्। निर्वाचनको सन्दर्भमा सीमामा असुरक्षा, लागूऔषध ओसारपसार, चोरी–तस्करी र आपराधिक गतिविधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै दुवै देशका सुरक्षा संयन्त्रले संयुक्त गस्ती थालेको हो।
झापाको सदरमुकाम भद्रपुर र भारतको गलगलिया सीमा नाकामा पर्ने पिलरहरू आसपासमा संयुक्त टोलीले गस्ती गरेको छ। टोलीमा नेपालतर्फबाट वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योन्जन तामाङ, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका डिएसपी दयाराम पौडेल तथा भारततर्फबाट बिहार पुलिसका सब–इन्स्पेक्टर राकेश कुमार र सीमा सुरक्षा बल (एसएसबी) निमिगुडी बिहारका केतन सालुङ्गे सहभागी थिए।
गस्तीपछि दुवै पक्षबीच सीमा सुरक्षा सम्बन्धी समन्वय र सहकार्यबारे छलफल पनि भएको छ।
त्यस्तै, हिजो बिहान प्रहरी चौकी मेचीपारिबाट प्रहरी सहायक निरीक्षक आमासुलाल राजवंशी, सशस्त्र प्रहरी बल बाहिनी २ नम्बर गणका नायव निरीक्षक मोतीलाल कर्माचार्य तथा एसएसबी बिहारका सब–इन्स्पेक्टर वैजनाथ सरकटासहित १४ जनाको संयुक्त टोलीले भद्रपुर–३ मा रहेको सीमा क्षेत्रको वस्तुस्थिति अवलोकन गरेको नेपाल प्रहरीले जनाएको छ।


