झापा, १४ कात्तिक । बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा सक्रिय रहेको छ, जसको प्रभावले आज साँझसम्म नेपालको मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मौसममा क्रमिक सुधार आउने अनुमान गरिएको छ।
नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव देखिएको छ। यसका कारण देशभर सामान्यदेखि अधिकांश स्थानमा बदली भएको छ।
वर्षा र हिमपातको अवस्था
हल्का देखि मध्यम वर्षा: कोशी, बागमती, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा; गण्डकी प्रदेशका केही स्थानहरूमा; मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा।
दिउँसोको पूर्वानुमान: कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली; अन्य प्रदेशमा सामान्य बदली। ती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा।
भारी वर्षाको सम्भावना: कोशी, मधेस, बागमती प्रदेशका थोरै स्थानहरूमा; लुम्बिनी प्रदेशका एक–दुई स्थानमा।
हिमपात: कोशी, बागमती, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना।
रातिको पूर्वानुमान
मध्यम वर्षा: कोशी, मधेस, बागमती प्रदेशका धेरै स्थानहरूमा; गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा।
भारी वर्षा र हिमपात: कोशी, मधेस, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा; कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात।
सतर्कता अपनाउन आग्रह
मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात र कोशी, मधेस, बागमती, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, पर्वतारोहण, कृषि, पर्यटन, सडक तथा हवाई यातायातमा असर पर्ने चेतावनी दिँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

