झापा, १४ कात्तिक । झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछी बजारमा शुक्रबार राति आगलागी हुँदा दुई घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
राति करिब १० बजे गौरीगञ्ज–६ खजुरगाछीका राजेन्द्र ढकालको दुई तले घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्यालयका अनुसार इँटाको गाह्रो र टिनको छाना भएको आठ कोठे घरमा आगो लागेपछि छेउमै रहेको तीन कोठे टहरा पनि जलेर नष्ट भएको छ । उक्त टहरामा चन्दर नायकले होलसेल किराना पसल सञ्चालन गर्दै आएका थिए । दुवै घरमा रहेका सबै सामान जलेर नष्ट भएको छ ।
आगो स्थानीयबासी, इलाका प्रहरी कार्यालय गौरीगञ्ज, प्रस्तावित सीमा सुरक्षा टोली, गौरादह नगरपालिका, शिवसतासी नगरपालिका र कमल गाउँपालिकाको बारुण यन्त्रको सहयोगमा राति १२ बजे नियन्त्रणमा लिइएको थियो । क्षतिको विवरण संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


