झापा, १५ कात्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को असर आज (शनिबार) देखि नेपालमा अन्त्य भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनमा अब देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव मात्र रहेको उल्लेख गरिएको छ।
गत बुधबारदेखि मोन्था चक्रवातको प्रभावले नेपालमा वर्षायामजस्तै लगातार वर्षा भइरहेको थियो। महाशाखाका अनुसार आजदेखि उक्त चक्रवातको प्रभाव समाप्त भइसकेको छ।
यद्यपि, पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। काठमाडौँ उपत्यकालगायत केही स्थानमा वर्षा जारी छ।
महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुन सक्छ। कोसी र मधेस प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपात हुन सक्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशका उच्च पहाड तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज रातिदेखि वर्षा र हिमपातको क्रम ह्वात्तै घट्नेछ। रातिको समयमा कोसी, बागमती र गण्डकी प्रदेशका पहाड तथा हिमाली भूभागका थोरै स्थानमा मात्र हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।


