झापा, १५ कात्तिक । यही कात्तिक ९ गतेदेखि बेपत्ता भएका शिवसताक्षी नगरपालिका–१०, माईधार निवासी सरोज शर्माको शव बिरिङ खोलामुनि गाडिएको अवस्थामा फेला परेको छ। गाडी लिएर घरबाट निस्किएका शर्मा त्यस दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खोजतलासका लागि उजुरी दिएका थिए।
झापा जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काका अनुसार झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका बीच बग्ने बिरिङ खोलाको पुलमुनि शव गाडिएको अवस्थामा भेटिएको हो। शव भेटिएपछि घटनास्थलमा प्रहरीको टोली परिचालित गरिएको छ।
यसअघि कात्तिक १३ गते शर्माको गाडी चारआली जंगलमा जलेको अवस्थामा फेला परेको थियो। सोही आधारमा अनुसन्धान गरिरहेको प्रहरीले आज बिहान दुई जनालाई नियन्त्रणमा लिएपछि हत्या गरी गाडी जलाएको र शव खोलामुनि गाडिएको खुलासा भएको हो।
हत्या आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका–१०, माईधार निवासी २५ वर्षीय सुनील शाह र २६ वर्षीय राहुल शाहलाई पक्राउ गरेको छ। शर्माको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।
प्रहरीले घटनामा अन्य व्यक्ति पनि संलग्न हुन सक्ने आशंका गर्दै थप अनुसन्धान जारी राखेको जनाएको छ। हत्या किन र कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
यसैबीच, घटनाप्रति आक्रोशित स्थानीयले आरोपित सुनील शाहको घरमा तोडफोड गरेका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन सुरक्षा सतर्कता बढाएको छ।


