झापा, १५ कात्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव अझै बाँकी रहँदा देशमा फेरि अर्को मौसम प्रणाली सक्रिय हुने संकेत देखिएको छ। मौसमविद्हरूका अनुसार आउँदो बुधबार (कात्तिक १९) देशका केही स्थानमा पुनः वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार मंगलबार (कात्तिक १८) बेलुकादेखि पश्चिमी नेपालमा कमजोर पश्चिमी वायु प्रणाली प्रवेश गर्नेछ, जसले हल्का वर्षा र हिमपात गराउनेछ। “मंगलबार बेलुकादेखि पश्चिम नेपालमा वर्षा लिएर अलि कमजोर पश्चिमी वायु आउँदै छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
शनिबार बिहानैदेखि काठमाडौंसहित पूर्वी नेपालका केही भागमा ‘मोन्था’ चक्रवातको प्रभावले वर्षा भइरहेको छ। पोखरेलका अनुसार शनिबार बेलुकासम्म मौसममा सुधार आउने र सूर्य देखिने सम्भावना रहे पनि आइतबार अपराह्नमा पूर्वी नेपालमा पुनः वर्षा हुन सक्नेछ।
बुधबार पश्चिमी वायुको प्रभावले काठमाडौंसम्म हल्का वर्षा हुन सक्ने सम्भावना रहेको उनले औँल्याएका छन्। “हिमाली भेगमा फेरि पनि हिमपातको सम्भावना रहेकोले हिउँ हेर्न अहिले नै नजानुहोला,” उनले सचेत गराएका छन्।
किसानका लागि मौसम पूर्वानुमान विशेष महत्त्वपूर्ण भएकोले पोखरेलले सोमबार र मंगलबार (कात्तिक १७ र १८) धान भित्र्याउन उपयुक्त समय हुने सुझाव दिएका छन्। तर बुधबारको वर्षाले कटाईमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले पनि देशमा हाल पश्चिमी वायु र अरबसागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। यसले आगामी दिनमा मौसममा उतारचढाव ल्याउने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।


