
द्रोण अधिकारी गुहेली
झापालाई सिर्जनाको केन्द्र बनाएर पाच दशकदेखि क्रान्तिकारी कविको छवि निर्माण गरेका विहरी अधिकारीको बाह्रौं कृतिका रूपमा मान्छे बेच्ने देश लघु कविता संग्रह प्रकाशनमा आएको छ । २०८२ असारमा प्रकाशनमा आएको यस संग्रहमा १०५ वटा कविता संग्रहित गरिएको छ । यस कविता संग्रहभित्र हाइकु, तान्का, मुक्तक र गजल शैलीमा छन्द समेत जोडेर उत्कृष्ट कविता संग्रहित गरिएको देखिन्छ । हरेक कविताले कुनै न कुनै रूपमा क्रान्तिकारी भाव जोडेर देशको माटो खोजेको आभाष पाठकले गर्ने छन् । थोरै शब्द तर चोटिलो भाव र वर्तमानको सत्य चित्र हरेक कविताका साझा विशेषता हुन् ।

वि सं २०१२ साल साउन २८ गते धनकुटा जिल्लाकोे चनुवा गाउँमा पंण्डित खेमराज तथा विष्णुमाया अधिकारीको सुपुत्रका रूपमा जन्मिएका विरहीको प्रमाणिक नाम सिताराम अधिकारी देखिए पनि नेपाली साहित्यले विरही अधिकारीकै रूपमा चिनिरहेको छ । वि सं २०२७ सालदेखि झापाको स्थायी बासिन्दा भएर रहेका अधिकारीले वि सं २०३८ सालमा मुटु रेटिएको कथा नामक कविता संग्रह प्रकाशन गरी नेपाली साहित्य आकाशमा कविका रूपमा उदाएको देखिन्छ । यस बिचमा अधिकारीका ९ वटा कविता काव्यका कृति तथा २ वटा निबन्ध संग्रह र एउटा कथा संग्रह गरी १२ वटा कृति प्रकाशन भइसकेका छन् । जसमा ७ वटा कविताका मात्र संग्रह देखिन्छन् भने दुई वटा काव्यका रूमा प्रकाशित कृति हुन् । अधिकारीले गद्य र पद्य दुवै लयमा कविता रचना गरेको देखिन्छ । अर्थात उनका कृति अतिआधुनिक शैलीदेखि परम्परागत नियमसम्म पालना गरेर रचना गरिएको देखिन्छ । शैली जुन समातेर रचना गरिएको भए पनि अधिकारीका कविता काब्यले देश र माटोको रक्षाका लागि विद्रोही भाव भने प्रष्ट रूपमा ओकलेको भेटिन्छ ।

उनका कविता काव्यले सहिदको सम्झना गर्दै सहिदको योगदान बिर्सदै गएकोमा आक्रोस पोख्छन् । अधिकारीका कविताले नेपाली नारीमाथि हत्या, बलात्कार, शोषण, दमन भइरहेको संकेत गर्दै नारीको सुरक्षा गर्न सवैसित आग्रह गर्छन् । उनले नेपाल देश असल शासक नरहेकै कारण सिमाना मिचिएको, स्वाभीमान गुम्दै गएको, भ्रष्टाचार, दुराचार, अन्याय र अत्यचार बढिरहेकोमा आक्रोस पनि कविता काव्य मार्फत पोखिरहेका हुन्छन् । उनी आज कवि कलाकार चोर, तस्कर र घुसखोरीको नियन्त्रमा रहेकोले यस्तो समाजमारा प्रवृत्ति अन्त्य गर्ने कविता लेखिनु पर्ने आवाज उठाएका छन् । उनले युवाहरूलाई आफ्नो मातृभूमि उजाड बनाएर अर्काको भूमि उर्वर बनाउन विदेसिने प्रवृत्ति त्याग्न कविता मार्फत नै नेपाली वुवा युवतीसित आग्रह गरिरहेक हुन्छन् । अधिकारीले संघीय लोकतान्त्रिक गणतन्त्र जनमैत्री बन्न नसक्नुमा शासकीय सिद्धान्त कमजोर भएर शासक बलियो बन्दै गएकोमा कविता मार्फत सत्तासिन दलप्रति कटाक्ष गर्दै व्यङ्ग्य प्रहार गरिरहेका हुन्छन् । उनले देश र माटो सम्झन जन्मथलो, कर्मथलोदेखि मानवतासम्म समेटेर नौ वटा कविता काव्य कृतिभित्र नेपाली समाजको वास्तविक चित्र प्रस्तुत गरेका छन् ।
विरही अधिकारीले रचना गरेका तथा सुमना अधिकारी प्रकाशक रहेका कविता काव्यका कृति मध्ये पछिल्लो कृतिका रूपमा आएको मान्छे बेच्ने देश लघु कविता संग्रहभित्र संग्रहित कविता अध्ययन गर्दा ६० वटा कविता र ४० वटा मुक्तक जोडिएर यो कृति निर्माण भएको देखिन्छ । दुईदेखि ११ पङ्क्तिसम्म संरचित हरेक कविता चित्रसित गाँसिएर आएका छन् । थोरै शब्दले धेरै भन्न खोजेका हरेक कविताको भाव चित्रले विचित्र वर्णन गरिरहेको पाठकमा अनुभूति हुने छ । वैचारिक दृष्टिमा माक्र्सवादी चिन्तन भेटिने अधिकारीका हरेक कविता देश र माटो खोजिरहेको अनुभूति दिन्छन् । क्रान्ति चेत पालेका उनका कविताले विध्वंसलाई होइन रचनात्मक विद्रोहलाई समातेको प्रष्ट देखिन्छ ।
अधिकारीको यस कृतिको पहिलो कविताले बोकेको शीर्ष भाव हेरौं—र्
तिमी त बुद्धको देश भन्छौ होला
वीर पुर्खाको सन्तान भन्छौ होला
तर तिमीलाई नढाटी भन्नु पर्दा
मान्छे बेच्ने देशको मान्छे म ।’
जम्मा २१ शब्दमा वर्तमान नेपालको शासकीय अनुहार चिनाउन सफल यस कविताले नेपाल र नेपालीको बास्तविक पहिचान गुमी सकेको तीतो सत्य ओकलेको छ । राजनीतिक गति सही ठाउँमा नहुँदा नेपालीहरू दलालको फन्दामा परेर रोजगारीका नाममा विदेशमा बेचिनु पर्ने बाध्यता जिउँदो छ । देशमा पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वेरोजगार युवा युवती रोजगारका लागि विदेश रोज्न बाध्य छन् । यस अवस्थाको फाइदा लिदै दलालहरू वैदेशिक रोजगारीका नाममा नेपाली युवा युवती बेचिरहेका छन् । पेट पाल्नका लागि नेपाली छोराछोरीहरू पटक पटक बेचिदा फन्दामा पर्ने अवस्था छ । सरकारी पक्षदेखि स्वयम रोजगार खोज्ने युवायुवतीसम्म दलाललाई विश्वास गर्ने वातावरण निरन्तर रही रहँदा नेपाली नागरिकमाथि हरेक दिन समस्या बढ्दै गएको छ । यस्तो बिकराल अवस्थाले हाम्रो परिचय बदलिएको संकेत कवितामा व्यंग्यात्मक चेत सहित कविले छोडेका छन् ।
उनको अर्को कविता अपरिवर्तनलाई हेरौं—
बा भन्नु हुन्थ्यो
झ्याउँकिरी युगौंदेखि रात मात्र बोलाउँछ
उज्यालो कहिलै डाकेन ।
यस कवतामा ११ वटा शब्द मात्र भए पनि हजार शब्दले बोल्न नभ्याउने भाव बोलेको छ । कविताले नेपालमा व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन हुनै नसकेकोप्रति कडा प्रहार गरेको छ । कविताको भाव प्रष्ट्याउने हो भने वि सं २००७ सालदेखि २०८२ साल भदौसम्म भएका परिवर्तनका हरेक लडाइमा नागरिकका चाहना र इच्छा अनुसारका परिवर्तन हुननसकेको मात्र शासकको अनुहार फेरिएको बुझ्न गाह्रो छैन ।
अधिकारीको न्यायाधीश शीर्षकको कविता हेरौं—
जिब्रोमा घाउ छ रे, बोले दुख्छ
यसैले चुपचाप बसिरहन्छ ।
माथिको कवितामा रहेका ९ वटा शब्दले समग्र नेपालको न्यायमूर्तिमाथि प्रहार गरेको व्यंग्य भावचाहिँ नेपालको राजनीति मात्र होइन न्याय प्रणाली पनि सही छैन । अन्याय देख्दादेख्दै न्यायाधीश मौन बसेर न्याय दिनै सक्दैनन् । यो नेपालको वर्तमानको बास्तिविक चित्र हो ।
अधिकारीको अर्को कविता असहजता हेरौं—
महंगीले टुपी बाँधेर
तारो हान्दै सङ्गिनले घोच्दै ।
कविताभित्र रहेका ७ वटा शब्दले विचलित समाजको चित्र उतार्ने प्रयास गरेको देखिन्छ । नीति छ, नियम पनि छ तर वर्गीय विभेद जन्माउने कालावजारीका कारण हरेक दिन महंगी तीव्र गतिमा बढ्दै जाँदा धनी अझ धनी बन्ने अनि गरिब खान नपाएर मर्नु पर्ने दिन निर्माण भएरहेकोमा कविको आक्रोस कवितामा पोखिएको हो ।
विडम्बना शीर्षकको कविता निहालौं—
न्याउली बास्दैन
कोयलीको भाका छैन
त्यसैले पिर छैन
मुटु पनि दुख्दैन ।
यस कविताले प्रकृतिदेखि जीव जन्तुसम्म आफ्नो जिम्मेवारीबाट भाग्दै जाँदा मानव जस्ता चेतनशील भनिएका प्राणीहरू चेतनाविहिन सून्य बन्दै गएको संकेत गरेको छ । यस भावलाई माटोसित जोडेर हेर्ने हो भने देश र समाज छोडेर परदेश भासिने नेपाली मनहरूले अब यो देशको चिन्ता गर्ने या माया गर्ने छैनन् भन्ने व्यंग्य भाव बुझ्न सकिन्छ ।
अर्को कविता व्यभिचार शीर्षकलाई नजिकबाट हेरौं—
सडक खोकिलाबाट
सालनाल संँगैको बाल चित्कार
मान्छेहरू भन्दै थिए
सडक सुत्केरी भएछ ।
यस कविताले उठाएको विषयचाहिँ आधुनिकताका नाममा बढ्दै गएको व्यभिचारले जन्मसितै बालबालिका सडक किनारका नाली र झाडीमा फाल्ने परम्परा हुर्कदै गएकोप्रति कवितामा कविद्वारा व्यंग्य गरिएको छ । विशेष गरी नवजवान युवा युवती रमाइलोका नाममा अनुचित यौन सम्बन्ध राख्ने अनि गर्भमा बच्चा बसे जन्मनु पूर्व मार्ने मार्न नसके जन्माएर फाल्ने आपराधिक काम गरिरहेको सत्य अहिलेको समाजको बास्तविक चित्रका रूपमा कवितामा देखाइएको छ ।
अधिकारीको कविता तर्सिएको छ शीर्षकको कविता पढौं—
श्रमको मुचुलका नउठेपछि
रगतको सरजमिन नभएपछि
जब अन्यायमा अन्याय थपिन्छ
तव जिन्दगीसँग कविता तर्सिएको छ
कवितासँग जिन्दगी तर्सिएको छ ।
यस कविताले शोषण र दमन बिरूद्ध क्रान्तिकारी भाव जमेर कविता रचिने परम्परा हराएको प्रति कविले कवितालाई व्यंग्य गरेका छन् । समाज शोषक र सामन्तिकै नियन्त्रणमा रहेका कारण श्रमजीवी वर्ग उत्पीडन सहन बाध्य रहेको संकेत समेत कविताका शब्दहरूले ओकलेका छन् ।
कवि अधिकारीले सङ्घर्ष शीर्षक दिएको कविता हेर्दा—
जिन्दगी आफैं टल्कँदैन, टल्काउनु पर्छ
आफैँ फुल्दैन, फुलाउनु पर्छ ।
जिन्दगी यसर्थ त सङ्घर्ष हो ।।
यस कविताले व्यक्ति आफैले आफ्ना लागि केही न केही गर्नु पर्ने जागरण भाव छोडेको छ । अर्काले केही गर्ला अनि खाउँला भन्नेहरूलाई केही पनि नगरी केही नै हुँदैन भन्ने सन्देश कविताको शीर्षक आफैले छोडेको छ ।
अधिकारीको लाचार शीर्षकको मुक्तक हेर्दा—
नागरिकताको प्रमाणपत्र सिरानीमा राखेर
नागरिक आफ्नो हक माग्न डराउँछ
अधिकार खोसेर लिन डराउँछ ।
दास प्रवृत्ति नमाझिएको मान्छे
कायर डरपोक सधैं अर्काकै गाई बाख्रा चराउँदैछ ।
यस मुक्तकले नागरिक हुनुको अर्थ खोज्ने प्रयास गरेको छ । कसैको हातमा नागरिकता हुँदैमा नागरिक नहुने संकेत समेत छोडेको छ । जसले अधिकार र कर्तव्य साथसाथै बोकेर हिड्न सक्दैन । त्यो नागरिक नभएर दास मात्र हो भन्ने व्यंग्यसित प्रगतिशील चेत बोकेको भाव यस कविताको मुल विषय पनि हो ।
समग्रमा भन्नु पर्दा मान्छे बेच्ने देश लघु कविता संग्रह वर्तमान नेपालको सामाजिक चित्र हो जहाँ देश र नागरिको हालत बेहाल बन्दै गएको देखिन्छ भने राजनीति, प्रशासन र न्याय क्षेत्र अराजक बाटोमा अलमलिरहेको भेटिन्छ । राजनीतिलाई राज्य होइन सत्ता प्यारो छ । प्रशासन र न्यायपालिकालाई देश र जनता होइन कागज र पैसाको मेलो भए हुन्छ । यिनै दुर्गतिप्रति व्यंग्य बनेर प्रहार भएका शब्द कविता कृति बन्न सफल छन् । थोरै शब्द खर्चिएर तयार भएका हरेक शीर्षकका कविताले विकृतिमाथि प्रहार गर्दै सभ्य र सुन्दर नेपालको कामना गरेका छन् । आशा, आक्रोस, विद्रोह र क्रान्तिलाई आत्मसाथ गरेका अधिकारीका यस संग्रहका हरेक कविता प्रगतिशील विचारसित घोलिएर सुन्दर भाव बन्न सफल देखिन्छन् ।

