झापा, १६ कात्तिक । झापाको अर्जुनधारा नगरपालिका–४ स्थित सामुदायिक वनमा अपहरणपछि हत्या गरिएको घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ । ३३ वर्षीय सरोज शर्माको हत्या उनका आफ्नै साथी सुनिल साह र साहका भान्जा राहुल साहले मिलेर गरेका हुन् । घटना अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश, उपद्रव तथा कर्तव्य ज्यानसम्बन्धी कसूरमा परेको प्रहरीले जनाएको छ ।
हत्या योजना र घटनाको क्रम
प्रारम्भिक अनुसन्धानबाट सरोज शर्माले सस्तोमा सुन पाए केही आफूले किन्ने र काठमाण्डौमा चिनाजान रहेको मानिसलाई पनि किनाइदिने भनि सुनिल साहलाई सुन खोज्न भनेकोमा सुनिल साहले बिगत १ महिना अगाडि देखि नै सरोज शर्मासँग भएको पैसा लुट्ने र निजलाई अपहरण गरी छिमेकी मुलुकमा लगेर घरका आफन्तहरुसंग करोडौं रुपैया असुल्ने योजना बनाइएको खुलेको छ । कात्तिक ९ गते आफूले सुन ल्याएर राखेको गाडिएको स्थान हेर्न आउन सरोज साहलाइ फकाएर अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनमा बोलाई सुनिल साह र निजकै नातामा भान्जा पर्ने राहुल साहले आफूसँगै लगेको ह्याम्मर (हथौडा) लगायतले टाउकोमा प्रहार गरी सोही स्थानमै हत्या गरेको प्रहरीले जनाएको छ ।

शव गाडिएको र गाडी जलाइएको
हत्या पछि एक भारतीय नागरिकको सहयोगमा शवलाई मृतककै गाडीमा हालेर झापा गाउँपालिका–५ स्थित बिरिङ खोलाको पुलमुनि गाडिएको थियो। कात्तिक १३ गते सरोज चढ्ने गाडी निचाझोडा सिमसार जंगलमा जलिरहेको अवस्थामा फेला परेको थियो। घटनास्थल नजिकै अभियुक्त सुनिल साहको चप्पल पनि भेटिएको थियो।
पक्राउ र अनुसन्धान
मोबाइल ट्र्याकिङमार्फत अभियुक्तहरूको संलग्नता पुष्टि भएपछि सुनिल साहलाई कात्तिक १४ गते विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट र राहुल साहलाई सोही दिन शिवसताक्षीस्थित घरबाट नियन्त्रणमा लिइएको हो। कात्तिक १५ गते बिहान बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा सरोज शर्माको शव फेला पारिएको थियो। शवलाई कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।
अनुसन्धान जारी
पक्राउ परेका अभियुक्तहरूलाई अपहरण, आपराधिक प्रवेश, शरीर बन्धक, उपद्रव तथा कर्तव्य ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट सात दिनको म्याद लिइएको छ। अन्य फरार अभियुक्तको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


