झापा, १८ कात्तिक । सङ्घीय सरकारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट पाँच जना प्रहरी अधिकृत प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति भएका छन्।
सोमबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले नवपदोन्नत अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो।

पदोन्नति भई दर्ज्यानी चिन्ह प्राप्त गर्ने प्रहरी नायब महानिरीक्षकहरूमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले रहेका छन्।
समारोहमा आईजीपी खापुङले पदोन्नत अधिकृतहरूलाई बधाई दिँदै राष्ट्र, जनता र संगठनप्रति पुर्याएको योगदानको उच्च मूल्याङ्कनस्वरूप प्राप्त पदोन्नतिलाई जिम्मेवारीपूर्वक वहन गर्न निर्देशन दिनुभयो। उहाँले परम्परागत सोच र शैलीलाई समयानुकूल परिमार्जन गर्दै व्यावसायिक, इमानदार र कर्तव्यनिष्ठ प्रहरीको छवि निर्माण गर्न आग्रह गर्नुभयो।
आईजीपी खापुङले प्रहरी कमाण्डरको भूमिका केवल प्रशासनिक नेतृत्वमा सीमित नरही नैतिक, रणनीतिक र प्रेरणादायी हुनुपर्ने उल्लेख गर्दै आगामी चुनौतीहरूलाई ध्यानमा राखी सूचना सङ्कलन, विश्लेषण, रणनीतिक समन्वय र प्रभावकारी प्रहरी परिचालनमा जोड दिन निर्देशन दिनुभयो।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, अन्य नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो।
नवपदोन्नत डीआईजी खत्रीले संगठनको अपेक्षा, भरोसा र प्रतिष्ठालाई कायम राख्दै जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

