झापा, २० कात्तिक । झापाको कमल गाउँपालिका–६ मंगलबारेमा वाईफाई मर्मतको क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
शिवसतासी नगरपालिका–१ निवासी १९ वर्षीय आसिस खनाल फस्ट लिंक वाईफाई कम्पनीमा कार्यरत थिए। गत कार्तिक ११ गते साँझ ५ः३० बजे मंगलबारेस्थित बिजुलीको पोलमा चढी वाईफाई मर्मत गर्ने क्रममा अचानक विद्युत् तारमा छोइएपछि करेन्ट लागी भुइँमा खसेर गम्भीर घाइते भएका थिए।
घाइते खनाललाई तत्काल उपचारका लागि आम्दा अस्पताल, खरखरे दमक पुर्याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि नोवेल अस्पताल, विराटनगर लगिएकोमा चिकित्सकले उपचार सम्भव नभएको बताएपछि आफन्तले उनलाई घर ल्याएका थिए। कार्तिक १९ गते उनको मृत्यु भएको पुष्टि भएको छ।
मृत्युपछि कार्तिक २० गते बिहान ७ः४५ बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको थियो। पोष्टमार्टमपछि मृतकको शव उनका बुबाले अन्त्येष्टिका लागि बुझी लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


