झापा, २२ कात्तिक । झापा दमक नगरपालिका–८ स्थित एनसेल अफिस छेउमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले दुई युवकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
मिति २०८२ कार्तिक २२ गते साँझ ४ बजे इलाका प्रहरी कार्यालय (इप्रका) दमकबाट खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको हो।
पक्राउ पर्नेमा दमक नगरपालिका–५ निवासी २५ वर्षीय निराज सापकोटा र दमक नगरपालिका–९ निवासी २५ वर्षीय अरुण रोक्का रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट प्लास्टिक सहित ११.६८ ग्राम र प्लास्टिक बाहेक ८.१५ ग्राम ब्राउन सुगर, नगद ३५ हजार रुपैयाँ, विभिन्न कम्पनीका तीन थान मोबाइल फोन, र प्र१–०१–०१४ प ८१६१ नम्बरको बजाज कम्पनीको २०० सीसी कालो रंगको मोटरसाइकल बरामद गरिएको छ। दुबै जनालाई नियन्त्रणमा लिएर इप्रका दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


