
झापा, २३ कात्तिक । झापाको शिवसताक्षी नगरपालिकामा गत वर्ष भएको चर्चित ‘अमला काण्ड’ का आरोपित ८० वर्षीय कपिलमणी संग्रौला निर्दोष ठहरिनुभएको छ ।
करिब डेढ वर्षदेखि अदालतमा विचाराधीन रहको उक्त मुद्दामा झापा जिल्ला अदालतले सफाइ दिएपछि संग्रौला निर्दोष ठहरिनुभएको हो । संग्रौला परिवारले सञ्चारकर्मीहरुसँग भेटघाट आयोजना गरी आज अदालतको फैसला सार्वजनिक गर्दै उक्त मुद्दामा सफाइ पाएको जनाएको छ ।
सोही स्थानकी १९ वर्षीया किशोरीले सन्तान जन्माएपछि संग्रौलामाथि अनैतिक सम्बन्ध र जबरजस्ती करणीको आरोप लगाइएको थियो । उक्त घटना सार्वजनिक भएपछि ‘अमला काण्ड’ सामाजिक सञ्जालदेखि युट्युबसम्म व्यापक रूपमा चर्चित बनेको थियो ।
इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दर्ता भएपछि २०८१ फागुन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको अदालतका न्यायाधीश पारशमणि पोखरेलको इजलासले वादी पक्षका आरोप प्रमाणित नहुँदा प्रतिवादी संग्रौलालाई सफाइ दिइएको जनाइएको छ ।
अदालतको बकपत्रअनुसार जबरजस्ती करणी भएको भन्ने दाबीका प्रमाण—शारीरिक परीक्षण, डिएनए रिपोर्ट, बयान र प्रत्यक्षदर्शीका भनाइबाट पुष्टि हुन नसकेको उल्लेख छ । साथै प्रतिवादीमाथि बदला लिने वा फसाउने मनसाय देखिएको टिप्पणी पनि बकपत्रमा गरिएको छ ।
घटनाले संग्रौला परिवारलाई सामाजिक, मानसिक र आर्थिक रूपमा ठूलो क्षति पु¥याएको कपिलमणीका छोरा ओम संग्रौलाले बताउनुभयो । “समाजले हाम्रो बुबालाई अपराधी ठान्यो, तर आज अदालतले न्याय दियो”, अदालतको फैसलापछि उहाँले भन्नुभयो, “अमला काण्ड मचाउनेको घर भन्दै हामी समाजमा मुख देखाएर हिँड्न नसक्ने अवस्थामा पुगेका थियौं, अब अदालतले न्याय दियो ।”
आरोपपछि आफू गम्भीर मानसिक तनावमा परेको ८० वर्षीय कपिलमणी संग्रौला बताउनुभयो । “म समाजमा बस्नै नसक्ने अवस्थामा पुगेँ,” कपिलमणीले भन्नुभयो, “मर्न भनेर कोशी नदीको किनारसम्म पुगेँ, तर अन्ततः फर्केँ ।”
उहाँले अहिले पनि माक्स लगाएर बाहिर निस्किनुपर्ने बाध्यता रहेको सुनाउनुभयो । अदालतको निर्णयपछि उहाँले भन्नुभयो, “अब बल्ल न्याय पाएको महसुस गरेको छु ।”
सो घटनामा सन्तान जन्माएकी ती किशोरी र जन्मेकी बालिकाले अझै न्याय नपाएको संग्रौला परिवारले जनाएको छ । कपिलमणीका भाइ युवराज संग्रौलाले भन्नुभयो, “हाम्रो दाजु निर्दोष सावित हुनुभयो, तर ती किशोरी र उनको बच्चीलाई न्याय दिने को हो ? ती किशोरीलाई यस्तो अवस्थामा पु¥याउने वास्तविक अपराधीको खोजी गरी कारबाही गर्नुपर्छ ।”

