भद्रपुर, २४ कात्तिक । प्रादेशिक अस्पताल भद्रपुरमा भएको तीन वटा छुट्टाछुट्टै चोरी घटनामा संलग्न तीन जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। चोरीका घटनाहरू अस्पताल परिसरभित्र अक्सिजन पाइप र औषधी चोरीसँग सम्बन्धित छन् ।
गत कात्तिक ३ गते दिउँसो करिब २ बजे अस्पतालको पुरानो सर्जिकल वार्डको बाहिरी भागबाट किचन हुँदै गाइनो वार्डको ओपीटी र ओटी बाहिरसम्म अक्सिजन आपूर्ति गर्न जडान गरिएको तामाको पाइप चोरी भएको थियो । अनुसन्धानको क्रममा भद्रपुर नगरपालिका–६ का ३७ वर्षीय रन्जित घोषलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै, गत कात्तिक १८ गते दिउँसो गाइनो वार्डको पहिलो तलाबाट अक्सिजन पाइप चोरी गरिरहेको अवस्थामा सीसीटिभी फुटेजमार्फत पहिचान गरिएका भद्रपुर नगरपालिका–१० का ३० वर्षीय सुरज जमदारलाई आइतबार पक्राउ गरिएको थियो ।
यस्तै, कात्तिक २२ गते राति करिब ११ बजे अस्पतालको औषधी स्टोर कोठाबाट मेथाडोल नामक झोल औषधी चोरी गरेको सीसीटिभी फुटेजमा देखिएपछि मेचीनगर नगरपालिका–७ का २८ वर्षीय विश्वनाथ राजवंशीलाई आइतबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा दाखिला गरिएको छ ।
तीनै जना प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट पहिलो पटकको लागि पाँच दिनको म्याद लिइ अनुसन्धान अघि बढाइएको छ ।


