झापा, २७ कात्तिक । हरेक वर्ष बर्खासँगै आवागमनमा समस्या भौग्दै आएका हल्दिबारी–३ रणकालीका स्थानीयबासीको समस्या स्थायी रुपमा समाधान भएको छ ।
हल्दिबारी–३ रणकालीस्थित भुसुडी खोलामा पुल निर्माण भएसँगै यहाँका स्थानीयबासी उक्त समस्याबाट मुक्त भएका हुन् । काठे पुलबाट जेतेन आवातजावत गर्दै आए पनि खोलामा आएको बाढीले पुल बगाएपछि उनीहरु समस्या भोग्दै आएका थिए । तर, अहिले उक्त स्थानमा पक्की पुल बनेपछि आवागमन हुँदै आएको समस्या स्थायी रुपमा समाधान भएको छ ।

हल्दिबारी गाउँपालिकका अध्यक्ष रविन्द्र लिङ्देनले गाउँपालिकाको आफ्नै बजेटबाट भुसुडी खोलामा २६.८ सय मिटर लामो र ५.५ मिटर चौडाको पक्की पुल निर्माण गरिएको बताउनुहुन्छ । यो पुलसँगै भुसुडी खोलाको अर्को स्थानमा २६.८ सय मिटर लामो र ५.५ मिटर चौडा र भुतेनी खोलामा ४२.७ लामो ७.२ मिटर चौडा पुल निर्माण गरिएको उहाँले बताउनुभयो ।
“मितव्ययी रुपमा आन्तरिक स्रोतबाटै पुल निर्माण गरेका छौं”, उहाँले भन्नुभयो, “गाउँपालिकासँग आमनागरिक अपेक्षा धेरै छ, बजेटको उपलब्धता अनुसार क्रमशः काम गर्दैछौं ।” पालिकालाई भ्रष्टाचार मुक्त पालिका बनाउने अभियानसमेत शुरु गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाको आफ्नै बजेटबाट भुतेनी खोलाम एउटा र भुसुडी खोलमा दुई वटा गरी तीन वटा पुल रू चार करोड ९६ लाख ८५ हजार ९ सय २८ को लागत निर्माण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिनुभयो ।
तीन वटै पुलको निर्माण कार्य निर्माण कम्पनी सारा सृष्टिले गरेको हो । अठाइ वर्षको अवधिमा गाउँपालिका क्षेत्रभरि ४२ किलोमिटर सडक कालोपत्रे गरिएको समेत उहाँले बताउनुभयो ।

“जनप्रतिनिधि र कर्मचारीले पाउने भत्ता र फजुल खर्च कटौती गरिएको छ”, उहाँले भन्नुभयो, “सकेसम्म मितव्ययी भएर काम गरिरहेका छौं, यहाँका सबै जनप्रतिनिधि, राजनीतिक दल र कर्मचारी सबैले गाउँपालिकालाई समृद्ध बनाउन लागिपरेका छौं ।”
हाल हल्दिबारी गाउँपालिकाबाट काठेपुल विस्थापित भएको छ । हालसम्म १५० वटा काठेपुल विस्थापित गरी पक्की पुल र कल्भर्ट निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले बताउनुभयो । हल्दिबारी–३ रणकालीस्थित भुसुडी खोलाको पुलको उद्घाटन बुधबार हल्दिबारी गाउँपालिकाका अध्यक्ष लिङ्देन र उपाध्यक्ष मैनालीले संयुक्त रुपमा गर्नुभएको थियो ।

गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा हल्दिबारी–१ का वडाध्यक्ष देवीबहादुर थापा, हल्दिबारी–४ का वडाध्यक्ष सन्तकुमार थापा, नेपाली कम्युनिष्ट पार्टी हल्दिबारीका संयोजक खकेन राजवंशी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, कर्मचारी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।


