
झापा, १६ मसिर । झापाको झापा गाउँपालिका–४ चौधरी बस्तीबाट चोरी गरिएको मोटरसहित एक युवक पक्राउ परेका छन्।
मङ्गलबार बिहान करिब ६ः५० बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी सहायक निरीक्षक दिनेश कुमार माझीको कमाण्डमा रहेको पाँच जनाको गस्ती टोली तथा सशस्त्र प्रहरी बल बिओपी टाघण्डुब्बाबाट स.प्र.ह गणेश बहादुर गुरुङको नेतृत्वमा खटिएको पाँच जनाको मोसा गस्ती टोलीले संयुक्त रूपमा उनको पक्राउ गरेको हो।
गस्तीका क्रममा नेपालतर्फ चोरी गरी भारततर्फ साइकलबाट लग्दै गरेको अवस्थामा कनकाई नगरपालिका–४, सुरुङ्गाका करिब २७ वर्षीय अशोक मगरलाई शंका लागेर रोकि चेकजाँच गरिएको प्रहरीले जनाएको छ।
जाँचका क्रममा मगरको साथबाट ८०×८० mm I/s–११ साइजको मोटर फेला परेपछि उनलाई चोरीको सामानसहित नियन्त्रणमा लिइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। यसअघि पनि झापा प्रहरीले जेन्जी आन्दोलनका क्रममा फरार एक कैदीलाई नियन्त्रणमा लिएको थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



