
झापा, २३ मंसिर । झापाको हल्दीबारी गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको अवलोकनका लागि बंगलादेशको फ्रेण्डसिप ग्रुप संस्थाका पदाधिकारीहरू मंगलबार भ्रमणमा आएका छन्। टोलीको नेतृत्व मो. मेटियर रहमानले गरेका थिए।
महिला बालबालिका शाखा प्रमुख तृष्णा थापाले पालिकामा सञ्चालन भइरहेका कार्यक्रम र पुनःस्थापनाका प्रयासबारे प्रस्तुतीकरण दिएकी थिइन्। बंगलादेशी टोलीले राखेका जिज्ञासाहरूको जवाफ गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले दिएका थिए।
हल्दीबारी गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करूणा फाउन्डेसनको संयुक्त लगानीमा दुई वर्षदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ।
कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), जनप्रतिनिधि, कर्मचारी, करूणा फाउन्डेसनका पदाधिकारी, मिलिजुली समूहका पदाधिकारीलगायतको उपस्थिति रहेको योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिए।


