
सन्तोष शर्मा
झापा, २४ मङ्सिर । पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच आज एकता भएको छ ।
झापाको बिर्तामोडमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला संघर्ष समिति र संघीय लिम्बुवान पार्टीबीच एकता भएको हो । एकतापछि पार्टीको नाम ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ भएको छ ।
पार्टी एकता घोषणासँगै चारवटै पार्टीका नेतृत्वले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालका तर्फबाट पार्टी अध्यक्ष राजेन्द्र महतो, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर)का पार्टी नेता सञ्जुहाङ पाङ्लुवा, कोचिला संघर्ष समितिका तर्फबाट पार्टी संयोजक त्रिनारायण राजवंशी र संघीय लिम्बुवान पार्टी नेपालका तर्फबाट अध्यक्ष मित्र लिङ्देनले तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
पार्टी एकतासँगै जिम्मेवारी बाँडफाँड गरिएको छ । पार्टी अध्यक्षमा राजेन्द्र महतो, वरिष्ठ नेता सञ्जुहाङ पाङ्लुवा, उपाध्यक्षमा त्रिनारायण राजवंशी र मित्र लिङ्देन रहनुभएको छ ।
हाल कायम रहेके केन्द्रीय समिति एवम् पदीय जिम्मेवारी एकीकृत पार्टीमा समेत सहमतिको आधारमा कायम गरिने एकता घोषणा कार्यक्रममा जनाइएको छ । चार वटा पार्टीबीच बीच गहन छलफल र विचार विमर्शपछि तीन बुँदामा सहमत भई पार्टी एकता गरिएको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताउनुभयो ।
“जनताले खोजेको परिवर्तन र चाहनालाई पूरा गर्न हामी एकीकृत भएका हौँ”, उहाँले भन्नुभयो, “मुलुक परिवर्तनको प्रश्रव पीडामा छ, मुलुकलाई त्यो पीडाबाट मुक्त बनाउन र जनतालाई चाहेको परिवर्तन ल्याउनका लागि हामी एकजुट भएका हौं ।”
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टी सहभागी हुने बताउँदै उहाँले परिवर्तनको लक्ष्यलाई पूरा गर्न निर्वाचनलाई उपयोग गर्ने उल्लेख गर्नुभयो । “निर्वाचनमा सहभागी भएर मात्र लक्ष्य पूरा हुँदैन”, उहाँले भन्नुभयो, “अधिकार र पहिचानका लागि संसदको रोस्टममा पुगेर खबरदारी गर्छौं ।”
विचार र विकल्पसहितको क्रान्तिका लागि जनताको ताकत सञ्चित गर्न अब जनता समक्ष जाने अध्यक्ष महतोको भनाइ छ ।
नवगठित पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पाङ्लुवाले पहिचान र परिवर्तनको मुद्दालाई स्थापित गर्न सबै पहिचान पक्षधर एकजुट भएर शक्ति निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले एक भएर नयाँ सोचका साथ अघि बढ्न पार्टी एकता गरिएको उल्लेख गर्नुभयो ।
पार्टी उपाध्यक्ष मित्र लिङ्देनले जेनजी आन्दोलनपछि मुलुकले नयाँ परिवर्तन चाहेकाले पार्टी एकीकरण गरी परिवर्तनको पक्षमा आफूहरू उभिएको उल्लेख गर्नुभयो ।
एकता घोषणा कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष कमला गुरुङले जुनसुकै व्यवस्था आए पनि पुरानै शैलीले मुलुक चल्दै आएको बताउनुभयो । उहाँले परिवर्तनका लागि एकता जरुरी रहेकाले नयाँ नेपाल बनाउन पहिचान र परिवर्तनका पक्षधरहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी, सह–महासचिव रविन्द्र श्रेष्ठ, जसपा नेता रमेश राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कोचिला संघर्ष समिति संयोजक त्रिनारायण राजवंशीको अध्यक्षतामा भएको थियो ।
राष्ट्रिय स्वाभिमान, स्वायत्तता, सामाजिक न्याय र समानताको आधारमा पहिचानका आधारमा स्वायत्त राज्य तथा विशेष क्षेत्रहरूको संरचना विकास गर्नुपर्ने माग पुनः स्थापित गरिएको संयुक्त पसहिचानवादी मोर्चा संगठन विभाग प्रमुख तथा झापा संयोजक एलवी पालुङ्वाले जानकारी दिनुभयो । दलबीचको एकतालाई अब प्रदेश र स्थानीय संरचनामा विस्तार गर्दै महाधिवेशनमार्फत नाम, चिन्ह र झन्डा संशोधन गर्न सकिने बताइएको छ ।



