
झापा, २५ मंसिर । झापा जिल्लाको भद्रपुर नगरपालिका–५ मेचीपुल क्षेत्रमा बुधबार साँझ प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको मे १० प ६७८० नम्बरको मोसालाई चेकजाँच गर्दा लागुऔषध फेला पारेको थियो । सो मोटरसाइकलका चालक भारत दार्जिलिङ श्यामधनजोते बद्राजोतेका ६१ वर्षीय गोपाल बैधलाई प्रहरीले पक्राउ गरेको हो ।
बैधले लगाएको हापपेन्टको गोजीमा प्लास्टिकको पोका पारी लुकाइ ल्याएको ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ बरामद गरिएको छ । बरामद पदार्थको तौल गर्दा ४ ग्राम १७० मिलिग्राम प्लास्टिक बाहेक ३ ग्राम ७३० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोसा र चालक बैधलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको छ ।


