
झापा, २७ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ।
शुक्रबार आयोगमा दर्ता भएका दललाई चिह्न वितरण गरिएको हो। सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार मङ्सिर २१, २२ र २३ गते तीन दिनको समय दिई आवेदन मागिएको थियो।
समानुपातिक प्रणालीतर्फ १०० दलले आवेदन दिए पनि दुई वा बढी दलले एउटै चिह्नमा भाग लिन आवेदन दिएका कारण कुल ९३ वटा चिह्न कायम भएको आयोगले जनाएको छ।
आयोगका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्राप्त समानुपातिक मतका आधारमा क्रमसङ्ख्या र चिह्न प्रदान गरिएको हो। अन्य दललाई दर्ताका आधारमा चिह्न दिइएको छ।
पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा पाँचकुने तारा, चौथोमा घण्टी, पाँचौँमा हलो, छैटौँमा ढल्केको छाता र सातौँमा लाउड स्पिकर चिह्न तोकिएको छ।
त्यसैगरी ढकिया, साइकल, मादल, गिलास, लौरो, आँखा, जरायो, नमस्कार, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया–तारा, कमल, गितार, घर, हँसिया लगायतका चिह्न पनि प्रदान गरिएको छ।
नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले बस चिह्न पाएका छन्। राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले चकिया ९जाँतो० चिह्न प्राप्त गरेका छन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) र नेपाल कम्युनिस्ट पार्टीले कोदालो, सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले जगर भएको सिंह चिह्न पाएको आयोगले जनाएको छ।


