
झापा, २९ मंसिर । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज नेतृत्वका लागि उम्मेदवारी दर्ता हुँदैछ।
एमालेले जनाएको अनुसार दोस्रो दिनको बन्दसत्र बिहान ८ बजे सुरु भएको छ। निर्वाचन तालिकाअनुसार आइतबार साँझ प्रकाशित मतदाताको अन्तिम नामावलीमा दाबी–विरोधका लागि आज बिहान ९ बजेसम्म समय तोकिएको छ।
निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ र मंगलबार मतदानको तयारी गरिएको छ।
आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसारः
दाबी–विरोधको छानबिन बिहान १० बजेसम्म सकिनेछ।
अन्तिम मतदाता नामावली बिहान १०:१५ बजे प्रकाशित हुनेछ।
उम्मेदवारी फारम वितरण बिहान ९ बजेदेखि १२ बजेसम्म हुनेछ।
उम्मेदवारी दर्ता बिहान १०:३० देखि दिउँसो १:30 बजेसम्म हुनेछ।
प्रारम्भिक उम्मेदवार नामावली दिउँसो २:30 बजे प्रकाशित हुनेछ।
उम्मेदवारविरुद्ध उजुरी दिने समय दिउँसो २:30 देखि आधा घण्टासम्म रहनेछ।
उजुरी छानबिन १० मिनेटमै सकिनेछ।
अन्तिम उम्मेदवार नामावली साँझ ६ बजे प्रकाशित गरिनेछ।
महाधिवेशनमा २,२६२ जना प्रतिनिधि सहभागी भएका छन्। उद्घाटन कार्यक्रम भने शनिबार भक्तपुरको सल्लाघारीमा सम्पन्न भएको थियो।

