
झापा, २ पुस । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा झापाबाट १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये पाँच जना तल्लो कमिटीका छन् । प्रदेश कमिटीको उपसचिवदेखि जिल्ला सदस्यसम्मले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएपछि उनीहरूले पद गुमाएका छन् ।
केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेहरूमा कोसी प्रदेश कमिटी उपसचिव जलवर्षा राजवंशी, प्रदेश कमिटी सदस्यहरू निता घतानी, होमबहादुर थापा, निर्मला सिवाकोटी र झापा जिल्ला कमिटी सदस्य मनोज ताम्ली छन् ।
झापाबाट यी नाम सहित केन्द्रीय सदस्यमा चिन्तन पाठकको पनि केन्द्रीय कमिटी सदस्यमा पहिलो अनुभव हुनेछ ।
एमालेको विधानमा अन्तिम नामावली प्रकाशन भइसकेपछि माथिल्लो तह वा माथिल्लो तहको पद स्वतः नरहने व्यवस्था रहेको नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले जानकारी दिनुभयो । एमालेको विधान हालै संशोधन भए पनि उम्मेदवारी फिर्तासम्बन्धी व्यवस्था भने पुरानै विधानअनुसार कायम रहेको बताइएको छ । ‘अन्तिम नामावलीमा परेपछि सबैको पद जान्छ, फिर्ता हुँदैन,’ उहाँले भन्नुभयो ।



