
झापा, ४ पुस । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा एक दिने लोक सेवा तयारी कक्षा अभिमुखीकरण कार्यक्रम शुक्रबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यार्थीलाई निजामति सेवातर्फ उत्प्रेरित गर्ने उद्देश्य राखिएको थियो । प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले देशका सातै प्रदेशमा सहजताका लागि जिल्ला व्यापी अभियान सञ्चालन गर्दै आदिवासी जनजाति समुदायका विद्यार्थी लक्षित निःशुल्क अनलाइन लोक सेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत दिपेन्द्र पाण्डेले प्रशिक्षण प्रदान गर्नुभएको थियो । स्थानीय तहमा कार्यरत अधिकृतहरू तेजेन्द्र तामाङ, सरिता तामाङ, साजन साम्पाङ राई, रमेश मगर, कुल प्रसाद ताजपुरिया, अशोज ताजपुरिया लगायतले निजामति सेवा प्रवेशका आधारभूत विषयमा सहजीकरण गर्दै आफ्ना अनुभव विद्यार्थीहरुसँग साट्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका योजना अधिकृत दिवस राईले गर्नुभएको थियो । झापा जिल्लाका आदिवासी जनजाति समुदायका २३ जातजातिका करिब २०० जना विद्यार्थी सहभागी भएका थिए । विद्यार्थीहरूले निःशुल्क लोक सेवा तयारी कक्षामा भर्ना हुनका लागि प्रतिष्ठानको वेबसाइट nfdin.gov.np मा गएर योग्यता अनुसार कागजात पेश गरी अबको एक साताभित्र फाराम भर्न सक्ने जनाइएको छ ।


