
झापा, ५ पुस । एचएस साइना क्रिएसन प्रालिको आयोजनामा माघ पहिलो साता कोशी प्रदेशस्तरीय सौन्दर्य प्रतियोगिता ‘मिसेस क्वीन अफ कोशी–२०८२’ हुने भएको छ ।
विवाहित महिलाहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गर्ने उद्देश्यले पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका महिलाले सहभागिता जनाउन सक्नेछन् ।
आज सुरुङ्गामा पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक अनुप भण्डारीले पहिलो अडिसन पुस ७ गते झापाको सुरुङ्गामा हुने बताउनुभयो । पहिलो अडिसनको तयारी पूरा भएको र सहभागीहरुले फारम समेत भरिसकेको र थप फारम पर्ने क्रम जारी रहेको उहाँले बताउनुभयो । त्यसपछि झापाकै बिर्तामोड, दमक, सुनसरीको इटहरी, धरान र इलामका विभिन्न स्थानमा अडिसन सञ्चालन गरिनेछ ।
पत्रकार सम्मेलनमा युवा व्यवसायी केवल श्रेष्ठले महिलाहरुको क्षमता विकास र उनीहरुको व्यक्तित्व विकासका लागि प्रतियोगिता आयोजना गरिनु प्रंशसनीय कार्य भएको बताउनुभयो । प्रेस क्लब सुरुङ्गाका अध्यक्ष लीलारा झापाली, क्लबका संस्थापक सदस्य तीर्थराज खरेलल लगायतको आतिथ्य रहेको पत्रकार सम्मेलनको सहजीकरण क्लबका सचिव मनोज बस्नेतले गर्नुभएको थियो ।
अडिसनमार्फत ५० जना सहभागी छनोट गरिने र उनीहरुलाई २५ दिनसम्म नेतृत्व विकास, मोडलिङ, उद्घोषण कला तथा सचेतनामूलक तालिम दिइनेछ । राष्ट्रियस्तरका कलाकारहरु निर्णायकका रुपमा रहनेछन् ।
प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाले वास्ट्एप नम्बर ९८०७९९८०६९ मा विवरण पठाएर वा फेसबुक पेज मिसेस क्वीन अफ कोशीमा म्यासेज गरेर फर्म भर्न सक्नेछन् ।
प्रतियोगिताको विजेताले स्कुटी, नगद १० हजार रुपैयाँ, राष्ट्रियस्तरका तीन वटा म्युजिक भिडियोमा अभिनयको अवसर, थाइल्याण्ड भ्रमण, ५ लाखको जीवन बिमा, क्राउन, प्रमाणपत्र तथा विभिन्न उपहार पाउनेछ ।
त्यस्तै, उपविजेताले नगद ७५ हजार रुपैयाँ, दुई वटा म्युजिक भिडियोमा अभिनयको अवसर, थाइल्याण्ड भ्रमण, ५ लाखको जीवन बिमा, क्राउन, प्रमाणपत्र तथा विभिन्न उपहार प्राप्त गर्ने छ भने तेस्रो स्थान हासिल गर्ने प्रतियोगीले नगद ५० हजार रुपैयाँ, एक वटा म्युजिक भिडियोमा अभिनयको अवसर, थाइल्याण्ड भ्रमण, ५ लाखको जीवन बिमा, क्राउन, प्रमाणपत्र तथा विभिन्न उपहार पाउने प्रतियोगिताका इभेन्ट कोअर्डिनेटर गिरिराज ढकालले जानकारी दिनुभयो ।
पब्लिक च्वाइस, मस्ट ट्यालेन्ट, मस्ट ब्यूटीले नगद १० हजार रुपैयाँ, क्राउन, प्रमाणपत्र तथा विभिन्न उपहारहरु प्राप्त गर्ने जनाइएको छ । कार्यक्रम संयोजक भण्डारीले विवाहित महिलाहरुको क्षमता पहिचान र उजागर गर्न ‘मिसेस क्वीन अफ कोशी–२०८२’ महत्वपूर्ण प्लेटफर्म बन्ने बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।


