
भद्रपुर, ५ पुस । झापाको भद्रपुर नगरपालिका–५ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
आज बिहान करिब १०ः३० बजे भद्रपुर नगरपालिका–५ बसपार्कस्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा इलाम सूर्योदय नगरपालिका–१२ घर भई हाल बिर्तामोड नगरपालिका–१० मा बस्दै आएका ३३ वर्षीय अनिल प्रधानलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँच गर्दा उनले मलद्वारमार्फत प्लास्टिकको पोका पारी लुकाएको लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ फेला परेको थियो । तौल गर्दा प्लास्टिकसहित २ ग्राम ३०० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम १०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।
त्यसैगरी, आजै बिहान भद्रपुर नगरपालिका–५ नरसिंह बगानस्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री भद्रपुर नगरपालिका–६ टेलिभिट्टा का २५ वर्षीय नारायण राजबंशीलाई प्रहरीले शंका लागि चेकजाँच गर्दा बाँया खुट्टाको चपलमा लुकाइएको लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ फेला परेको थियो ।
उक्त पदार्थको तौल प्लास्टिक बाहेक १ ग्राम ६१० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । उनलाई समेत नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय भद्रपुरमार्फत जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ । प्रहरीले दुबै घटनामा बरामद गरिएको लागुऔषधसहित थप अनुसन्धान जारी रहेको जनाएको छ ।


