
झापा, ६ पुस । झापाको अर्जुनधारा–७ स्थित विल्डकन इन्डष्ट्रिज प्रालिले गुणस्तरका कारण बजारमा उद्योगद्वारा उत्पादित पेभर्सको माग र लोकप्रियता बढ्दै जनाएको छ ।
उद्योग परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा उद्योग सञ्चालकहरुले एनएस मापदण्ड अनुसार विश्वस्तरीय निर्माण सामग्री उत्पादन भएकाले बजारमा माग र लोकप्रियता बढेको जनाएको हो ।
“हामी गुणस्तरमा कुनै कम्परमाइज गर्दैनौं”, सञ्चालक दिपक अग्रवालले भन्नुभयो, “गुणस्तरीय निर्माण सामग्री भएकाले माग बढेको छ ।” करिब आठ वर्षअघि नेपालमै पहिलो पटक जर्मन प्रविधिबाट पेभर्स उत्पादन थालिएको उहाँले बताउनुभयो ।
“आठ वर्ष अघि हामीले बनाएको सडक अहिले पनि जस्ताको तस्तै छ”, उहाँले दाबी गर्नुभयो, “एनएस मापदण्ड अनुरुप पेभर्स उत्पादन गरिएकाले नै माग र लोकप्रियता बढेको हो ।”
विभिन्न १० प्रकारका चेकजाँच पछि मात्र गुणस्तरीय पेभर्स ग्राहक कहाँ पुग्ने सञ्चालक अग्रवाल बताउनुहुन्छ । विल्डकनबाट उत्पादन भएका पेभर्सको ५ वर्ष ग्यारेन्टी र २० वर्षभन्दा बढी आयु हुने उहाँको भनाइ छ ।
“हामीले बनाएको सडकहरुमा पाँच वर्षसम्म मर्मत खर्च गर्नुपर्दैन, हामी आफैं मर्मत गर्छौं”, सडक मर्मतमा बर्सेनि ठूलो रकम खर्च हुने गरेको बताउनुहुँदै उहाँले भन्नुभयो, “जसबाट सरकारको ठूलो धनराशीको बचत भएको छ ।”
‘एनएसको नाममा सेटिङमा एउटै उद्योगको एकाधिकार भएको भन्ने गुनासो छ नि ?’ भन्ने पत्रकारको जिज्ञासामा सञ्चालक अग्रवालले भन्नुभयो, “यो कुरा भ्रम हो, गुणस्तरका कारण हाम्रो उत्पादनको माग बढेको हो, हामी गुणस्तरमा एक नम्बरमा छौं, हामीले किन सेटिङ गर्नुपर्यो, कमसल र गुणस्तरहीनले पो भनसुन र सेटिङ गर्नुपर्छ होइन र ?”
उद्योगका म्यानेजिङ डाइरेक्टर नविन गट्टानीले उद्योगमा करिब ६० करोडको लगानी रहेको र उद्योगले हाल ३५० जनालाई रोजगारी दिएको बताउनुभयो । “उद्योगको क्षमताको ५० प्रतिशत मात्र उत्पादन भइरहेको छ”, उहाँले भन्नुभयो, “उद्योगले नाफा कमाउन नसके पनि रोजगारी सिर्जना गरेको छ ।”
अहिले माग बढ्दै गएकाले उत्पादन क्षमताको ७०–८० प्रतिशत उत्पादन गर्न हुन थालेपछि नाफा हुने उहाँको भनाइ छ । विल्डकनको उत्पादन क्षमता दैनिक ३५ हजार स्क्वायर फिट (करिब १ लाख २५ हजार पिस) छ । यहाँ उत्पादित पेभर्स कोशी प्रदेशसँगै काठमाडौं, कैलाली लगायतका स्थानमा खपत हुँदै आएको छ ।
हाल देशभर एनएस प्राप्त १२ वटा पेभर्स उद्योग रहेको र ३ वटा खुल्ने क्रममा रहेको गट्टानीले बताउनुभयो ।
उद्योगले एम २५ देखि एम ५० ग्रेडसम्मका एनएस इन्टरलकिङ पेभर्स उत्पादन गर्दै आएको छ । उद्योगले उत्पादन गरेका इन्टरलक पेर्भस एनएसको मापदण्ड अनुरुप सडकदेखि बन्दरगाहासम्ममा प्रयोग गर्न मिल्ने जनाइएको छ ।



