
बिर्तामोड, ९ पुस । झापाको बिर्तामोड नगरपालिका–७ भुसाबाडीस्थित बेल्स मोडल स्कूलमा आज शैक्षिक प्रदर्शनी कार्यक्रम भएको छ ।
स्कूलका कक्षा–४ देखि १० सम्मका विद्यार्थीले पाठ्यक्रमको विषयवस्तुमा आधारित रहेर तयार गरेको प्रयोगात्मक शैक्षिक सामग्रीको प्रदर्शनी गरिएको हो । जस अन्तरगत विज्ञान, गणित, नेपाली र अंग्रेजी विषयका २५० वटा भन्दा बढी प्रयोगात्मक सामग्रीको प्रदर्शनी गरिएको स्कूलले जनाएको छ ।
स्कूलका अध्यक्ष जयकुमार प्रसाईंको अध्यक्षतामा भएको प्रदर्शनीको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले गर्नुभएको थियो । विद्यालयका प्रिन्सिपल ताराकुमार प्रसाईंले स्वागतसँगै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने सञ्चालन स्कूलका भाइस प्रिन्सिपल देवन ढुंगानाले गर्नुभएको थियो ।
कार्यक्रम बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, बिर्तामोड–७ की वडा सदस्य लक्ष्मी खतिवडा, निशा फाउण्डेशनका संरक्षक विष्णु भेटवाल लगायतको आतिथ्य रहेको थियो । उहाँहरुले विद्यार्थीहरुले तयार पारेका शैक्षिक सामग्रीको अवलोकन गर्दै प्रशंसा गर्नुभएको थियो ।
स्कूलका प्रिन्सिपल प्रसाईंले शैक्षिक प्रयोगात्मक कार्यले विद्यार्थी व्यावहारिक ज्ञानको विकास गर्ने बताउनुभयो । पुस्तकमा भएको सिकाईलाई वास्तविक जीवनसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ ।
प्रर्दशनीमा विद्यार्थीहरुले विज्ञान, गणित, नेपाली र अंग्रेजी विषय अन्तरगत तयार गरेका २५० वटा भन्दा सामग्रीहरु राखिएको थियो । उक्त प्रदर्शनीमा नगरका अन्य १० वटा विद्यालयका विद्यार्थीले अवलोकन गरेका छन् भने आफ्ना बालबालिकाले तयार पारेका सामग्रीहरुको अभिभावकहरुले अवलोकन गरेका थिए ।
कक्षा नर्सरीदेखि १२ सम्म पठनपाठन हुने बेल्स मोडलमा करिब एक हजार तीन सय विद्यार्थी अध्ययन रहेका छन् भने शिक्षक तथा कर्मचारी ७५ जना रहेको भाइस प्रिन्सिपल ढुंगानाले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

