झापा, १७ पुस । झापाका विभिन्न तीन स्थानमा जंगली हात्तीले क्षति पु¥याएको छ । हात्तीले गएराति कमल गाउँपालिका, बिर्तामोड र बिर्तामोडमा घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पु¥याएको हो ।
कमल–३ बगाने टोलमा गएराति १ बजे तीन वटा जंगली हात्तीको हुल प्रवेश गरी स्थानीयबासी गणेश बस्नेतको बाँसको टाटी बेराले बनेको टिन छानो भएको भुइँघरमा आंशिक क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

हात्तीले बस्नेतको फुसको छानो भएको भान्सा घर पूर्ण ध्वस्त पारेको छ । घरभित्र रहेको करिब चार मन धान, चार मन मकैको पिठो, लत्ता कपडा, भाँडाकुँडा तथा खाट गरी करिब रू एक लाख बराबरको क्षति भएको प्रवक्ता खड्काले बताउनुभयो ।
त्यस्तै, भद्रपुर नगरपालिका–७ डाँफे चोकमा गए राति करिब २ः०० बजे ऋषि भट्टराईको एकतले पक्की घरको पूर्वतर्फ रहेको भान्सामा हात्ती प्रवेश गरी इँट्टाको पर्खाल भत्काएको छ । हात्तीले पर्खाल भत्काउँदा करिब रू २२ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरी, बिर्तामोड नगरपालिका–८ किशनभिट्टामा गएराति करिब ४ः०० बजे टंक बरायलीको टाटी बेरा र टिन छानो भएको एकतले कच्ची घरमा हात्ती प्रवेश गरी भण्डार कोठा भत्काएको छ । हात्तीले भित्र रहेको करिब आठ सय किलो धान र एक सय किलो चामल खाएको छ । जसबाट करिब रू ४५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



