झापा, १८ पुस । झापाको मेचीनगर नगरपालिका–६ स्थित कालीखोला पुलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ ।
बिहीबार बेलुका पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको भारतीय ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक मेचीनगर–६ की ३३ वर्षीया लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि तत्काल धुलाबारीस्थित आम्दा अस्पताल लगिए पनि राति चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव हाल त्यही अस्पतालमा छ । ठक्कर दिने ट्रक र चालक भारतीय राज्य पन्जाबको अमृतसर जिल्ला, भोलेबाबा निवासी ३६ वर्षीय सन्दीप सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक र चालक हाल इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा छन् ।



