
झापा, १८ पुस । झापाको हल्दिबारी गाउँपालिका–३ र भद्रपुर नगरपालिका–७ लाई जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ ।
हल्दिबारी–३ गैरीगाउँ हुँदै भद्रपुर–७ स्थित बुधकरण स्टेट जोड्ने ११७.४० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण भएको हो । उक्त पुलको आज भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल र हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
आर्थिक वर्ष २०७६÷७७ को बजेट अन्तर्गत ९२ लाख रुपैयाँ लागत अनुमानमा टेन्डर प्रक्रिया अघि बढाइएको यो पुल उपभोक्ता समिति तथा सामान खरिद टेन्डरमार्फत करिब ७५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । “लालीगुराँस झोलुङ्गे पुल” नाम दिइएको उक्त पुल २०७९ साल कात्तिक १० गते निर्माण सम्पन्न भए पनि औपचारिक उद्घाटन भने आज मात्र गरिएको हो ।
पुल निर्माणका लागि संघीय सरकारसँग समन्वय गरी भद्रपुर नगरपालिका मार्फत बजेट विनियोजन तथा निर्माण प्रक्रिया अघि बढाउन हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले महत्वपूर्ण पहल गर्नुभएको थियो । पुल सञ्चालनमा आएपछि यस क्षेत्रका करिब ५०० घरपरिवार लाभान्वित हुने भएका छन् ।
बनेको लामो समयसम्म उद्घाटन हुन नसकेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत वनको विशेष पहलमा दुवै पालिकाका प्रमुख, जनप्रतिनिधि, स्थानीय सरोकारवालाको उपस्थितिमा पुल उद्घाटन गरिएको छ ।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षता तथा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दुवै प्रमुखले पुलको आवश्यकता, स्थानीयबासीले भोग्दै आएको समस्या र पुल निर्माणपछि प्राप्त हुने फाइदाका विषयमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, भद्रपुर वडा नं. ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, हल्दिबारी वडा नं. ३ का वडाध्यक्ष विष्णुप्रसाद ओली, हल्दिबारी वडा नं. १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा नं. ४ का वडाध्यक्ष सन्तकुमार थापा मगर लगायत जनप्रतिनिधि, कर्मचारी, स्थानीयबासीको उपस्थिति रहेको थियो ।
पुल निर्माणमा महत्वपूर्ण भूमिका खेलेको पुल निर्माण उपभोक्ता समितिका सदस्यहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ । ककार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले पुल निर्माणको औचित्यबारे मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण गाउँपालिका योजना शाखा प्रमुख राजन न्यौपानेले गर्नुभएको थियो ।


