
भद्रपुर, १८ पुस । काठमाडौंबाट भद्रपुर (चन्द्रगढी)का लागि उडेको बुद्ध एयरको ATR–72 विमान अवतरणका क्रममा भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। रन–वे पार गरी विमान भासिएको भागमा पुगेपछि विमान क्षतिग्रस्त भएको हो।
बुद्ध एयरको उडान नम्बर Buddha 901 ५१ जना यात्रु र ४ जना चालक दलसहित राति २०:२३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। विमान राति करिब २१:१० बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वे को पूर्वतर्फको अन्तिम भाग (D–End) पार गर्दै करिब ३०० मिटर अगाडि रहेको भासिएको स्थानमा पुगेपछि अड्किएको जनाइएको छ।
दुर्घटनालगत्तै विमानमा सवार सबै यात्रु तथा चालक दललाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। प्रारम्भिक विवरण अनुसार कुनै पनि मानवीय क्षति भएको छैन।
घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको नेतृत्वमा ७० जनाको टोली घटनास्थलमा परिचालित गरिएको छ। सुरक्षा, उद्धार तथा अवस्थाको मूल्याङ्कन कार्य भइरहेको प्रहरीले जनाएको छ।
रन–वे पार गरी विमान भासिएको भागमा पुग्नु नै दुर्घटनाको प्रमुख कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि घटनाको वास्तविक कारण पत्ता लगाउन नागरिक उड्डयन प्राधिकरण र प्राविधिक टोलीले अनुसन्धान सुरु गरिसकेको छ।


