
कनकाई, २० पुस । झापाको कनकाई नगरपालिकामा श्रम संस्कृति पार्टीले श्रम महाअभियान सञ्चालन सुरु गरेको छ ।
युवा नेता दिलिप राईको नेतृत्वमा पार्टीले नगरसमिति बनेको समाचार समेत प्रकाशन नगरी आफ्नो परिचयकै दौरानमा श्रम कार्य सुरु गरेको हो । शनिबार कनकाई नगरपालिकाको पुरानो बजार दुर्गापुर बजार क्षेत्रको सरसफाईको थालनीसँगै श्रम सस्कृति नगर कार्यसमिति सार्वजनिक गरेको श्रम सस्कृति पार्टीका झापा जिल्ला उपाध्यक्ष सुमन पोखरेलले बताउनुभयो ।
२१ सदस्यीय श्रम संस्कृति पार्टीको अध्यक्षमा दिलिप राई रहनुभएको छ भने उपाध्यक्षमा डिबि सिलास राई, विष्णुमाया लिम्बू र गणेश परियार रहनुभएको छ । यसैगरी, सचिवमा अभिषेक मगर रहनुभएको छ । सफा रहौ स्वास्थ्य रहौ भन्ने नारा सहित पार्टीको पहिलो कनकाई नगर कमिटीको अभियान अन्र्तगत दुर्गापुर बजार सरसफाई कार्यक्रमको सुरुवात गरिएको र आगामी शुक्रबार सुरुङ्गा बजार सरसफाई गरिने र हरेक हप्तामा कुनै न कुनै सरसफाई र श्रमको काम गरिने पार्टीका कनकाई नगर अध्यक्ष राईले बताउनुभयो ।
श्रम अभियानमा केटाकेटीदेखि वृद्धवृद्धासम्मका सदस्यहरु सहभागि भएका थिए । अभियानमा श्रम सस्कृति पार्टीका जिल्ला उपाध्यक्ष सुमन पोखरेल, जिल्ला कोषाध्यक्ष दिपेन्द्र राई लगायतको नेताहरुको सहभागिता रहेको थियो । यसैबीच, श्रम संस्कृति पार्टीमा एमाले नेता तथा कनकाई–७ का निर्वाचित पूर्व वडाअध्यक्ष लीलाबहादुर कन्दङबासहितका नेताहरु पार्टी प्रवेश गरिसकेका छन् ।


