
सन्तोष शर्मा
झापा, २० पुस । झापाको कनकाई नगरपालिकाबाट पछिल्लो अढाइ वर्षको अवधिमा सुदुर भविष्यको खोजीमा विदेशिएका चार जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ देखि चालू आव २०८२÷०८३ को हालसम्म वैदेशिक रोजगारीमा गएका चार जनाको मृत्यु भएको कनकाई नगरपालिकाको रोजगार शाखाका रोजगार संयोजक सरोज मैनालीले जानकारी दिनुभयो । मृतकमध्ये दुई जनाको दुर्घटना र दुई जनाको रोगका कारण मृत्यु भएको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारीमा गएका व्यक्तिको मृत्युपश्चात वैदेशिक रोजगार बोर्डबाट उपलब्ध हुने आर्थिक सहायता प्रदान गरिएको छ । मृतकमध्ये तीन जनाको परिवारले बोर्डबाट प्राप्त हुने १० लाख रुपैयाँको दरले आर्थिक सहायता प्राप्त गरिसकेका छन् भने एक जनाको बोर्डमा पेश गरिएको छ ।
सोही अवधिमा कनकाईबाट वैदेशिक रोजगारीको क्रममा बिरामी भएका नौ जनामध्ये आठ जनाले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता प्राप्त गरेका छन् भने एक जनाको विवरण पेश गरिएको रोजगार संयोजक मैनालीले बताउनुभयो ।
कनकाईको रोजगार शाखामार्फत् वैदेशिक रोजगार बोर्डबाट मुटुको समस्या भएका कनकाई–३ का ओमनाथ खवासले रू एक लाख ७५ हजार, आन्द्रा काटेर जोडिएका कनकाई–३ का विनोद खतिवडाले रू एक लाख ७५ हजार, कलेजोको शल्यक्रिया गरिएका कनकाई–१ का बुद्ध पौडेलले रू एक लाख ७५ हजार, सोही वडाका मुटुरोगी डिल्लीबहादुर दर्जीले रू एक लाख ७५ हजार पाउनुभएको छ ।
त्यस्तै, खुट्टा काटिएका कनकाई–५ का रञ्जन उप्रेतीले रू पाँच लाख ६० हजार, बोनम्यारो प्रत्यारोपण गरिएका सोही वडाका नविनकुमार सुब्बाले रू सात लाख र मुटुमा समस्या भएकी विष्णुमाया दाहालले रू एक लाख ७५ हजार प्राप्त गर्नुभएको छ भने मेरुदण्डको शल्यक्रिया गरिएका कनकाई–३ का पुण्यप्रसाद मैनालीको कागजात बोर्डमा पेश गरिएको छ ।
यता, बोर्डले वैदेशिक रोजगारीमा गएका परिवारको सदस्य गम्भीर बिरामी हुँदा समेत आर्थिक सहायता प्रदान गर्दै आएकाले कनकाई नगर क्षेत्रका त्यस्ता तीन जनाले आर्थिक सहयता प्राप्त गरेका छन् भने तीन जनाको कागजात पेश गरिएको छ ।
कनकाई नगरपालिकाबाट चालू आव मंसिर मसान्तसम्ममा एक सय चार जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । गत आवमा २०८१÷०८२ मा २२३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । उनीहरु श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि साउदी अरेबिया, कतार, युएई, बहराइन, मलेसिया, रोमानिया, क्रोएसिया लगायतका देश गएका हुन् ।
वैदेशिक रोजगारमा गई मृत्यु भएको वा गम्भीर बिरामी परेका व्यक्तिका सन्तानलाई छात्रवृत्तिका लागि गत आव २०८१÷०८२ मा १८ जना विद्यार्थीको कागजात पेश गरी जनही १२ हजार रुपैयाँको दरले छात्रवृत्ति उपलब्ध गराइएको रोजगार शाखा संयोजक मैनालीले बताउनुभयो ।


