
मोरङ, २० पुस । मोरङको पथरी शनिश्चरे नगरपालिका ४ मा रहेका ३१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । महारानी ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको हो ।
नासिर आउटसोर्सिङ कन्सल्टेन्सीको आर्थिक सहयोगमा अनाथ, विपन्न तथा आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थाका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको सहयोगी मनहरू नेपालका सचिव विष्णु उप्रेतीले जानकारी दिनुभयो । पथरी शनिश्चरे नगरपालिकाका पूर्व नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
जाडोयाममा न्यानो कपडाको अभावका कारण बालबालिकालाई विद्यालय जान कठिनाइ नहोस् भन्ने उद्देश्यले दाताहरूसँग समन्वय गरी न्यानो कपडा वितरण गरिएको सहयोगी मनहरू नेपालका अध्यक्ष भीमप्रसाद आचार्यले बताउनुभयो । कार्यक्रमको अवसरमा आर्थिक सहयोग उपलब्ध गराउने वीरेन्द्रकुमार राउत तथा उहाँकी धर्मपत्नी विष्णुमाया राउतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा महारानी ट्युसन सेन्टर, न्यु बराल फेन्सी स्टोर दमक तथा पाथिभरा ट्रेडर्स, गौतम स्टोरको विशेष सहयोग रहेको आयोजकले जनाएको छ । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका–४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा सदस्य मीना विश्वकर्मा, महारानी ट्युसन सेन्टरका पदाधिकारीहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
सामाजिक सेवामा सक्रिय सहयोगी मनहरू नेपालले देशका विभिन्न क्षेत्रमा पुगेर अनाथ, असहाय तथा विपन्नलाई आवश्यकताअनुसारको सहयोग उपलब्ध गराउँदै आएको छ ।


