
भद्रपुर, २१ पुस । झापाको भद्रपुरमा ‘झापा औद्योगिक, व्यपार, कृषि तथा पर्यटन महोत्सव–२०८२’ हुने भएको छ ।
झापा उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ७ देखि २१ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशालामा महोत्सव हुने भएको हो । महोत्सव सञ्चालनका लागि झापा उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष राजकुमार राईको संयोजकत्वमा मुल आयोजक तथा अतिथि सत्कार समिति गठन भएको छ । महोत्सवको संरक्षक भद्रपुर नगरपालिका रहेको छ ।
झापा जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वासथ्य, कृषि, पशुपंक्षी र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पुरयाउने दिर्घकालिन र आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्थान तथा निकासी योग्य वस्तुमा जोड दिने मध्यकालीन लक्ष्यसहित महोत्सव गर्न लागिएको सोमबार संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
महोत्सवमा १० करोड रुपैयाँ बराबरको करोबार तथा एक लाख भन्दा बढी अवलोकनकर्ताले महोत्सव अवलोकन लक्ष्यका रहेको आयोजक संस्थाका कार्यवहाक अध्यक्ष राजकुमार राईले बताउनुभयो ।
पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अवसरको खोजी गर्ने, सूचनाप्रविधि सम्बन्धी जानकारी गराउने, व्यवसायिक चेतना अभिवृद्धि गर्ने, बजार अनुसन्धान एवम् नयाँवस्तु विकासका अवसर सिर्जना गर्ने, स्थानीय लोक संस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने, उत्पादन र उपभोक्ताबीच सम्बन्ध अभिवृद्धि गर्ने, देश विदेशका व्यवसायीहरुसँग अनुभव आदान प्रदानको अवसर प्रदान गर्ने,पर्यटकीय स्थलहरुको पहिचान गरी सोको पैवद्र्धनमा सहयोग पुर्याउने, कृषिजन्य उत्पादनको बजार प्रवद्र्धन गर्ने, स्थानीय उत्पादनमा गुणत्मक सुधार गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउँन सहयोग गर्ने, स्थानीय वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्ने एवम् उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्नेलगायतका विभिन्न उद्देश्यसहित महोत्सवको तयारी गरिएको जनाइएको छ ।
महोत्सवका लागि विभिन्न नौ वटा उपसमिति गठन गरिएको छ । आदित्य पराजुली संयोजक रहने गरी आर्थिक संकलन तथा व्यवस्थापन समिति, खड्गबहादुर लिम्बु संयोजक रहने गरी मञ्च व्यवस्थापन समिति, पवनकुमार श्रेष्ठको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, माधव विद्रोहीको संयोजकत्वमा प्रचार प्रसार समिति, रोहित काफ्लेको संयोजकत्वमा उपहार तथा प्रकासन समिति, अम्बिका पोख्रेलको संयोजकत्वमा सुरक्षा तथा स्वयम् सेवक समिति, अनिता कार्कीको संयोजकत्वमा स्वागत तथा सत्कार समिति, राजेन्द्रकुमार घिमिरेको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको पत्रकार सम्मेलनमा बताइयो ।
पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीले भद्रपुर नगरपालिकाले महोत्सवको अपनत्व ग्रहण गरेको बताउनुभयो । पत्रकार सम्मेलनमा पत्रकारहरूले राखेको जिज्ञाशामा महोत्सव आर्थिक संकलन तथा व्यवस्थापन समिति संयोजक आदित्य पराजुली, उद्योगी दिपेश ढकाल, नितेश बर्मा, भद्रपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मनोज सुब्बा लगायतले जवाफ दिनुभएको थियो । पत्रकार सम्मेलनको सहजीकरण संस्थाका महासचिव सुमन मैनालीले गर्नुभएको थियो । पत्रकार सम्मेलनमा महावीर मित्रुका, सागर घिमिरे, अम्बिका पोख्रेल लगायतका दर्जनौं उद्योगी–व्यवसायीको सहभागिता रहेको थियो ।



