
झापा, २७ पुस । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता महानायक राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
झापाको बिर्तामोडमा आज आयोजित इष्टर्न सहारा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि हमालले मुलुक निर्माणमा सबैभन्दा ठूलो भूमिका नागरिकले नै राख्ने बताउनुभयो ।
“हामीलाई कसैले बनाइदिँदैन, बनाइदियो भने पनि उसको त्यसमा स्वार्थ हुन्छ”, उहाँले भन्नुभयो, “अहिले सबैभन्दा ठूलो शक्ति कसैसँग छ भने त्यो जनतासँगै छ ।”
देशमा केही भएन सरकारले केही गरेर गुनासो गर्नुभन्दा सरकारमा जानेहरु जनताबाटै अनुमोदित भएर जाने भएकाले त्यसको दोषी भागी जनता पनि हुने उहाँको भनाइ थियो । देशलाई समृद्धिको मार्गमा डोहोर्याउने नेतृत्व चयन गर्ने जिम्मेवारी जनताकै भएकाले त्यसतर्फ चनाखो हुन उहाँले आग्रह समेत गर्नुभयो ।
इष्टर्न साहाराजस्ता लगानी कम्पनीहरुको लगानीबाट मुलुक समृद्ध हुन सक्ने बताउनुहुँदै उहाँले भन्नुभयो, “यस्ता लगानीले मुलुकमा रोजगार, शिक्षा, स्वास्थ्य लगायत समग्र क्षेत्रको विकासमा मद्दत पुग्छ ।”

साधारण सभामा इष्टर्न साहारा कम्पनीका अध्यक्ष महेन्द्र गिरीले स–साना पूँजीलाई एकीकृत गरेर दीगो समृद्धिका हरित ऊर्जामा लगानी गर्ने उद्देश्य कम्पनीले लिएको बताउनुभयो । कम्पनीले जलविद्युत, सौर्य ऊर्जा, कृषि, पर्यटन, प्रविधि, पूर्वाधार लगायतका क्षेत्रमा क्रमशः लगानी गर्दै जाने योजना रहेको बताउनुभयो ।
संस्थाले हाल पाँच वटा जलविद्युत्, एक वटा सौर्य ऊर्जा, दुई वटा कृषि लगायत ११ वटा परियोजनामा लगानी गरिसकेको अध्यक्ष गिरीले बताउनुभयो । “निकट भविष्यमै आइपीओमा जाँदैछौं”, उहाँले भन्नुभयो, “हरित लगानीमाफ्र्त दीगो समृद्धि सिर्जना गर्दै नेपालको अग्रणी लगानी कम्पनी बन्ने हामीले परिकल्पना गरेका छौं ।”
कम्पनीका प्रबन्धक कृष्ण रानाभाटले कम्पनीको अधिकृत पुँजी रू एक अर्ब ५० करोड, जारी पुँजी रू एक अर्ब ३७ करोड ५० लाख र चुक्ता पूँजी रू एक अर्ब १० करोड रहेको जानकारी दिनुभयो ।
साहस ऊर्जाका कम्पनी सचिव दिनेश रोक्काले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा स्वागत कम्पनीकी सञ्चालक कल्पना बिकले गर्नुभएको थियो भने सञ्चालन कम्पनीका सेयर सदस्य एकराज गिरीले गर्नुभएको थियो ।
साधारणसभामा कम्पनीका सञ्चालक गोपाल भट्टराई, पवनलाल राजवंशी, कम्पनीका शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।


