
झापा, २८ पुस । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २० औँ स्थापना दिवस झापामा विविध सामाजिक तथा शैक्षिक कार्यक्रमका साथ मनाइएको छ ।
स्थापना दिवसको अवसरमा झापाको शिवसताक्षीस्थित गोलोक गोवर्धन गौशालाका ३८ जना कर्मचारी तथा श्री सताक्षी गुरुकुलका ४५ जना विद्यार्थीलाई संस्कृतका पुस्तक, स्टेशनरी र खेलकुद सामग्री वितरण गरिएको छ । महासंघ झापाले यसअघि पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा केन्द्रका पदेन उपाध्यक्ष जीवन नेपालले झापा जिल्लाले पठन संस्कृतिको विकासका लागि रचनात्मक र प्रभावकारी काम गर्दै महासंघको गरिमा उच्च बनाएको बताए । उनले केन्द्र र प्रदेशस्तरबाट निरन्तर सम्मान पाउनु झापाको सक्रियता र प्रतिबद्धताको प्रमाण भएको उल्लेख गरे ।
कार्यक्रमका विशिष्ट अतिथि गोलोक गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष नन्दकिशोर भारद्वाजले संस्कृत विधाका विद्यार्थीलाई जीवनोपयोगी पुस्तक प्रदान गर्नु पुस्तक व्यवसायीको अत्यन्त प्रशंसनीय कार्य भएको बताए । उनले हिन्दु सनातन धर्मको संरक्षण र प्रवद्र्धनमा पुस्तक व्यवसायीहरूको भूमिका अतुलनीय रहेको उल्लेख गरे ।
कार्यक्रम महासंघ झापाका अध्यक्ष विनोद सापकोटाको सभापतित्वमा तथा सचिव चन्द्रमणि घिमिरेको सहजीकरणमा सम्पन्न भएको थियो ।


