
हल्दिबारी, २८ पुस । झापाको हल्दिबारी गाउँपालिकामा आजदेखि १६औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।
हल्दिबारी–१ स्थित जनजागृति माध्यमिक विद्यालयमा आजदेखि प्रतियोगिता शुरु भएको हो । १६औँ राष्ट्रपति रनिङशील प्रतियोगिता आयोजक समितिका संयोजक सन्तकुमार थापाको अध्यक्षता तथा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्यमा प्रतियोगिता उद्घाटन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि लिङदेन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटा, हल्दिबारी माविका प्रधानाध्यापक टंकबहादुर पाख्रिन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष देवीबहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जनजागृति माविका शिक्षक झमक तिम्सिनाले गर्नुभएको थियो ।
प्रतियोगितामा हल्दिबारीका १३ वटा विद्यालयका एक हजार दुई विद्यार्थीले ४२ स्वर्ण, ४२ रजत र ५४ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले २२ वटा खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । तीन दिवसीय प्रतियोगिता पुस ३० गतेसम्म सञ्चालन हुने छ भने प्रतियोगितामा करिब ६ लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।


