
शिवसताक्षी, २८ पुस । झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८२ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक शिवसताक्षी नगरपालिकाले माघ ९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।
शिवसताक्षी नगरपालिकाका अनुसार प्रतियोगितामा झापा जिल्लाका १५ वटै स्थानीय तहका कर्मचारी टोलीहरूको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन माघ ९ गते बिहान ११ः३० बजे हुने छ । उद्घाटनको दिन ३ खेल सञ्चालन गरिने छन् ।
खेल तालिकाअनुसार माघ १० गते ४ खेल, माघ ११ गते ४ क्वार्टरफाइनल खेल सञ्चालन हुनेछन् । त्यसैगरी माघ १२ गते २ सेमिफाइनल खेल र माघ १३ गते फाइनल खेल आयोजना गरिने खेल संयोजक प्रकाश चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको मुख्य उद्देश्य पालिकाका कर्मचारीहरूबीच आपसी सद्भाव, सुमधुर सम्बन्ध र भाइचारा विकास गर्नु रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँ तथा उपविजेता टोलीले नगद ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगिताअन्तर्गत म्यान अफ दी म्याच, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक तथा सर्वोत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा पनि पुरस्कार प्रदान गरिनेछ ।
वर्षेनी आयोजना हुँदै आएको यस प्रतियोगिताले कर्मचारीहरूबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास आयोजकको छ । गत वर्ष सम्पन्न प्रतियोगितामा शिवसताक्षी नगरपालिकाले कमल गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो । यस वर्ष पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल हुने अपेक्षा गरिएको छ । प्रतियोगिता शिवसताक्षी–११, दुधे स्थित नगरस्तरीय दुधे रंगशालामा सञ्चालन हुनेछ ।

