
झापा, १२ माघ । सुनसरी, उदयपुर र धनकुटा जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर, प्रतिबन्धित औषधि र गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ ११ गते सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान–१७ का निरबहादुर दर्जी र किरण मगरलाई लागुऔषध ब्राउनसुगर १८० मिलिग्राम, प्रतिबन्धित औषधि ११९ पिससहित र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–१९ का अविनाश चौधरीलाई ४३० मिलि ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले बा ९५ प ६२९१ नम्बरको मोटरसाइकल चालक त्रियुगा–११ का सविन राईलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट १५० एम्पुल प्रतिबन्धित औषधी फेलापारी नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, धनकुटाको सहिदभूमि–५ का रोहन राईलाई १३ किलो ४०० ग्राम लागु औषध गाँजासहित इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।


