
सन्तोष शर्मा
झापा, १२ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका राजेन्द्र लिङ्देन यहाँका मतदातालाई आठ वर्षअघिको झापा क्षेत्र नं. ३ स्मरण गर्न आग्रह गर्नुभएको छ ।
झापाको हल्दिबारी गाउँपालिका–१ स्थित गोलधापमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्नुहुँदै उहाँले यहाँका आम मतदातालाई आठ वर्षअघिको झापा क्षेत्र नम्बर ३ लाई स्मरण गर्न आग्रह गर्नुभएको हो ।
“म पहिलो चोटी प्रतिनिधि सभाको सदस्य बनें, त्यतिबेला मेचीले, बिरिङले यो क्षेत्रलाई पूर्ण रुपमा डुबानमा पारेको थियो”, उहाँले भन्नुभयो, “त्यतिबेला धेरै ठाउँ डुबानले ग्रस्त थियो । अहिले मेचीमा, बिरिङमा, देउनियामा, घाग्रामा जुन तटबन्धको व्यवस्था भयो, मलाई लाग्छ ठूल्ठूला प्रलय बाहेक सामान्य बाढीले अब यो क्षेत्रमा डुबानको कुनै समस्या आउँदैन । यसलाई भर्खरै गएको बर्खामा भएको डुबानले पनि प्रमाणित गरेको छ, नदी नियन्त्रणका काम एक प्रकारले सम्पन्न भइसकेका छन् ।”
सडक सञ्जालको हकमा झापा क्षेत्र नं. ३ मा एउटा उपलब्धि हासिल भएको उहाँले बताउनुभयो । “यो सिंगो क्षेत्रमा कालोपत्रे हेर्न भद्रपुर पुरानो नगर भएकाले त्यहाँ जानुपथ्र्यो कि बिहार कि त बिर्तामोड जानुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “अहिले कालोपत्रेले नछोएको कुनै वडा छैन ।”
यस क्षेत्रमा अनिवार्य कम्प्युटर शिक्षाका लागि आवश्यक काम गरेको बताउनुहुँदै उहाँले यहाँकै सिको गरेर अन्यत्र समेत कम्प्युर र कक्षा–१२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको बताउनुभयो ।
सांसद पद कार्यकारी पद नभए पनि स्थानीय तह र केन्द्रसँग सहकार्य गरेर केन्द्रका योजनासमेत ल्याएर यस क्षेत्रलाई विकासको मूल प्रवाहमा जोड्ने काममा आफू लागिपरेको उहाँको भनाइ छ । “आगामी दिनमा समेत अधुरा रहेका कामलाई पूरा गर्न आम मतदाताहरुलाई सहयोगको अपिल गर्दछु”, उहाँले भन्नुभयो ।
सांसद पद कार्यकारी नभए पनि जनताको सोच सांसद सबै थोक हो भन्ने रहेको उहाँले बताउनुभयो । “तर, मैले जनताले देख्न पाउने, छुन पाउने गरी विकास निर्माणको काम गरेको छु”, उहाँले भन्नुभयो, “जनताको माझमा सदैव रहेको छु, यहाँको कुनै पनि मतदाताले शिर निहु¥याउनुपर्ने काम गरेको छुइनँ ।”



