
झापा, १३ माघ । माघ तेस्रो सातादेखि सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप बालिका तथा किशोरीहरूलाई लगाउने भएको छ ।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले यही महिनाको तेस्रो सातादेखि देशव्यापी अभियानका रुपमा ३ लाख ५० हजार बालिका तथा किशोरीहरूलाई एचपिभी खोप लगाइने जानकारी दिनुभयो ।
सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप लगाएको थियो । शाखा प्रमुख गौतमले गत वर्ष खोप लगाउन छुटेका बालिकाहरूलाई पनि यसवर्ष खोप प्रदान गरिने जानकारी दिनुभयो । गत वर्ष छुटेका ११ देखि १४ वर्षसम्मका बालिकाहरूलाई यसपटक खोप लगाइने छ ।
सरकारले उक्त खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा चीनबाट नेपाल आइपुगेको उहाँले जानकारी दिनुभयो । नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।


