
झापा, १३ माघ । झापा र सुनसरीबाट लागुऔषध ब्राउनसुगर र औषधीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १२ गते झापाको दमक नगरपालिका–५ बाट विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक–९ का निरन्जन विश्वकर्मा, अमित मगर र दमक–५ का मीनकुमार धिमाललाई ट्रामाडोल ८१५ क्याप्सुल, डिकोलिक ११५ चक्की, स्पास्पेन ६०० चक्की लागुसहित पक्राउ गरेको छ ।
त्यस्तै, सुनसरीको इटहरी–१७ बाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी जैतुन खातुन, मोहमद सैफुदिन र मन्जिना खातुनलाई १० ग्राम ३५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा अस्थायी प्रहरी चौकी विजयपुरले धरान–१४ बाट सोही स्थानका कुन्दन पाठकलाई ट्रामाडोल ३१८ क्याप्सुल र स्पास्पेन २८९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।


